हेटौंडा \ बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले आफ्नो १४ महिने कार्यकालको विस्तृत प्रगति विवरण सार्वजनिक गरेका छन् । २०८० जेठ ७ गतेदेखि हालसम्मको अवधिमा मन्त्रालयबाट भएका मुख्य उपलब्धि र आगामी योजनाबारे उनले सोमबार पत्रकार भेटमा विस्तृत जानकारी दिएका हुन् ।
डा. श्रेष्ठले आफ्नो कार्यकालमा नीतिगत सुधार एवम् मन्त्रालयको कार्यसम्पादनमा वृद्धि र सुधार ल्याउने प्रयास गरेको बताए । उनका अनुसार प्रदेश कृषि विकाससम्बन्धि विधेयक, २०८० बारे प्रदेशसभाको विषयगत समितिमा छलफल भएको छ । उक्त ऐन निर्माण भए प्रदेश कृषि विकासमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रदेशमा माटोको गुणस्तरमा सुधार ल्याउन एवम् रासायनिक मलको समस्या समाधान गर्न ‘एक प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र–एक प्रांगारिक मल कारखाना’ स्थापना कार्यक्रम शुरु गरिएको उनले बताए । गत आर्थिक वर्षमा ७ जिल्लाका ७ पालिकामा उक्त कार्यक्रम लागु गरिएको र चालु वर्ष थप ७ कारखाना स्थापना गर्ने योजना रहेको जानकारी दिएका उनले उक्त कार्यक्रमले प्रदेशभर प्रांगारिक मल उत्पादनमा वृद्धि र किसानलाई गुणस्तरीय मल उपलब्ध गराउने लक्ष्य राखिएको बताए ।
मन्त्री श्रेष्ठले प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२–२०८५/८६) प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत गराउन सफल भएको बताए । उक्त योजनामा कृषिक्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणमा जोड दिइएको छ । कृषि विकासका माध्यमबाट प्रदेशको समृद्धिमा सघाउ पुग्ने विश्वास लिइएको छ । उनले उक्त योजनामा किसानकेन्द्रित नीति र कार्यक्रम समावेश गरिएको र यसले दीर्घकालीनरुपमा प्रदेशको कृषिक्षेत्र रुपान्तरण गर्ने आशा व्यक्त गरे । उनले मन्त्रालय र मातहत कार्यालयहरुको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि २१ वटा नयाँ तथा ३ वटा पुराना कार्यविधि संशोधन स्वीकृत गरिएको जानकारी दिए ।
मन्त्रालयअन्तर्गत् सबै ३६ कार्यालय अनुगमनरनिरीक्षण गरी आवश्यक सुझाव प्रदान गरिएको र सुशासन तथा कार्यसम्पादनमा सुधार गर्न निर्देशन दिइएको बताए । यस कदमले प्रदेशको कृषि प्रशासनमा पारदर्शिता र जवाफदेहिता बढाउने उनको विश्वास छ ।
कार्यक्रमगत् उपलब्धिमा डा. श्रेष्ठले लम्पीस्किन डिजिज नियन्त्रणका लागि १ हप्ते अभियान चलाइ ४८ हजार ३ सय ६४ गाईमा निःशुल्क खोप लगाइएको, प्राकृतिक र गैरप्राकृतिक विपद्बाट प्रभावित किसानलाई राहत प्रदान गरिएको, र भेंडाबाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गरिएको उल्लेख गरे । यी कार्यक्रमले प्रदेशको पशुपालन क्षेत्रमा ठूलो राहत र सुधार ल्याएको उनको दाबी छ ।
उनले प्रदेशका ८ जिल्लाका १० स्थानमा शीतभण्डारको निर्माण ८६ प्रतिशत् सम्पन्न भएको भन्दै ती शीतभण्डारले करिब १५ हजार ८ सय मेट्रिकटन फलफुल तथा तरकारी भण्डारण गर्नसक्ने क्षमता राख्ने उल्लेख गरे । ‘यसले किसानलाई आफ्नो उत्पादन लामो समयसम्म सुरक्षित राख्न र बजार मूल्यअनुसार बेच्न मद्धत गर्नेछ,’ उनले भने ।
चालु आर्थिक वर्ष २०८१/०८२ का लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कुल बजेट ३ अर्ब ३९ करोड ३४ लाख २० हजार प्रस्ताव गरिएको जानकारी दिँदै उनले यसबाट प्रदेशको कृषिक्षेत्रले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । उक्त बजेटमा समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम, प्रांगारिक मल कारखाना स्थापना, कृषिऋणमा सहुलियत व्याज अनुदान र पशुरोग नियन्त्रण खोप अभियान जस्ता महत्वपूर्ण कार्यक्रम समावेश छन् ।
डा. श्रेष्ठले आफ्नो कार्यकालमा चीनको चियाङ्सी प्रान्तसँग कृषि, शिक्षा र प्रविधि विकासको क्षेत्रमा सम्भावित सहकार्य र समन्वयका लागि पहल गरिएको पनि उल्लेख गरे । उक्त सहकार्यले प्रदेशको कृषिक्षेत्रमा नयाँ प्रविधि र ज्ञान भित्र्याउने उनको अपेक्षा छ ।
मन्त्री श्रेष्ठले आगामी दिनमा पनि प्रदेशको कृषिक्षेत्र विकासमा आफू निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ” १४ महिना छोटो कार्यकालमा हामीले धेरै महत्वपूर्ण काम गर्न सफल भयौं । यी कार्यक्रमहरुले प्रदेशको कृषिक्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछन् भन्ने विश्वास छ । हामीले थालेका कार्यक्रमलाई निरन्तरता दिइयो भने प्रदेश कृषिक्षेत्रमा आत्मनिर्भर र समृद्ध बन्नेछ ।”
केन्द्रदेखी प्रदेशसम्म सत्ता समीकरण परिवर्तनसँगै कामचलाउ मन्त्रीका रुपमा रहेका मन्त्री डा. श्रेष्ठले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो १४ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।