हेटौँडा \ मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ लाई शनिबार बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने भएको छ । बिहिवार पत्रकार सम्मेलन आयोजना गर्दै वडा अध्यक्ष विष्णुगोपाल महर्जनले १२ गते शनिवार हामीले वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने तयारी रहेको बताए । लामो समयदेखि गरेको मेहनत र तयारी अब फलदायी हुँदैछ । शनिबार हामी औपचारिकरुपमा हाम्रो वडालाई बालमैत्री वडाका रुपमा घोषणा गर्दैछौँ, वडाध्यक्ष महर्जनले भने ।
वडाले बालमैत्री स्थानीय शासन घोषणाका लागि उल्लेखनीय प्रगति हासिल गरेका छौँ । नेपाल सरकारको मापदण्ड अनुरुप आवश्यक ५१ वटा सूचकमध्ये ४५ वटा सतप्रतिशत, ३ वटा सुचक ९६ प्रतिशत, १ वटा ९५ प्रतिशत र १ वटा ९० प्रतिशत पूरा भएको वडाध्यक्ष महर्जनले बताए ।
उनका अनुसार वडामा १८ वर्षमुनिका एक हजार ८ सय ११ बालबालिका छन् । जसमध्ये ५२.१३ प्रतिशत् (९४४) बालक र ४७.८७ प्रतिशत (८६७) बालिका रहेका छन् । बालबालिकाको सक्रिय सहभागिताका लागि १९ वटा बालसमूह र १ वटा वडा बालसञ्जाल गठन गरिएको छ, जसमा ४ सय ६० बालबालिका आवद्ध छन् । विभिन्न संरचनागत समितिमा थप २५ जनासहित कुल ४ सय ८५ बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको वडाध्यक्ष महर्जनले बताए ।
वडामा १ सामुदायिक र २ संस्थागत गरी तीन विद्यालयले बालमैत्री विद्यालय घोषणा गरिसकेका छन् । वडामा २ वटा बालविकास केन्द्र समेत सञ्चालनमा छन् । यसले गर्दा सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याएको वडाध्यक्ष महर्जनले भने ।
वडाले बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि पूर्ण स्तनपान प्रवद्र्धन र स्तनपानकक्ष स्थापना गरेको छ । पोषण शिक्षा र ५० सुत्केरी तथा बालबालिकालाई पोषण सामाग्री वितरण गरेको वडाध्यक्ष महर्जनले बताए । बाल संरक्षणका लागि वडाले बालविवाह, बालश्रम र बाल दुर्व्यवहारविरुद्ध सचेतना कार्यक्रमहरु गरेको छ । बालअधिकार समितिको सक्रिय काम भइरहेको र बालश्रममा भेटिएका बालबालिका उद्धार, मनोसामाजिक परामर्श र पारिवारिक पुनःस्थापना गरिएको अध्यक्ष महर्जनले बताए ।
अध्यक्ष महर्जनका अनुसार विद्यालय र समुदायमा लागुपदार्थ दुर्व्यसन र साइबर अपराधसम्बन्धि सचेतना कार्यक्रम, बालमैत्री सम्पर्क व्यक्ति नियुक्ति, जन्मदर्ता अभियान र विद्यालय भर्नामा जन्मदर्ता अनिवार्य जस्ता कार्य गरिएका छन् ।वडा अध्यक्ष महर्जनले भने, “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी हो । शनिबारको घोषणासँगै हामी बालबालिकाको सर्वांगीण विकासका लागि थप प्रतिवद्ध र जवाफदेही हुनेछौं । हामी निरन्तर सुधार र प्रगतिका लागि प्रयासरत् रहनेछौं ।”
वडा कार्यालयले घोषणा कार्यक्रमको तयारी तीव्र पारेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र विशेषगरि बालबालिकाको उपस्थिति रहने जनाइएको छ । यस अवसरमा वडाको बालमैत्री यात्रा, उपलब्धिहरु र भावी योजनाको विस्तृत प्रस्तुति हुने बताइएको छ ।
वडा २ उपमहानगरपालिकाको वडा १, वडा ४ र ५ का साथै मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ सँग सिमाना जोडिएको छ । वडा नम्बर २ २.३३ वर्ग किमी क्षेक्रफलमा फैलिएको छ । शनिवार नगर प्रमुख मीना कुमारी लामाको प्रमुखआतिथ्यतामा वडा घोषणा कार्यक्रम गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष महर्जन सहित वडा सदस्य सुरज बर्तौला, प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, वडा सचिव रामप्रसाद गुरागाई, नगर बालसहजकर्ता सपना ढुङ्गानालगायतको आतिथ्यता रहेको थियो ।