गैरआवासीय नेपालीहरुको लगानी रहेको भैरहवामा संचालित पाँचतारे होटेल टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गर्न समयमा इजाजत नपाउँदा लगानीकर्ताले ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको छ । करिव ४ अर्ब भन्दा बढी लगानी गरेर खरिद गरेको टाइगर प्यालेस रिसोर्टमा सञ्चालित क्यासिनो गत साउन १ गतेदेखि बन्द छ । क्यासिनो बन्द हुँदा रिसोर्टलाई मासिक २ करोड भन्दा बढिको क्षति हुने सञ्चालकहरुको भनाइ छ ।
सञ्चालकहरुको आर्थिक क्षतिमात्र होइन करिब ४ सयको रोजगारी गुम्ने भएको छ भने करोडौँको सरकारी राजश्व पनि गुमिरहेकोछ । टाईगर प्यालेसले रोयल टाइगर रिक्रियसन प्रालिलाई लिजमा क्यासिनो सञ्चालन गर्न दिनेगरि गत बैशाखमै सहमति प्रदान गरेको थियो । क्यासिनो अनुमति आवेदक कम्पनी रोयल टाइगर रिक्रियसन प्रालिले नियमानुसार प्रक्रिया पुर्याई तोकिएको समयमा आवेदन गरेको थियो ।
गत आषाढ मसान्तसम्म एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको नाममा क्यासिनोको लाईसेन्स रहेको थियो । जसमा सिल्भर हेरिटेज इनभेष्टमेन्ट प्रालिको ९० प्रतिशत र टाईगर काठमाडौं इनभेष्टमेन्ट प्रालिको नाममा १० प्रतिशत शेयर रहेको थियो ।
एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले कोभिडका कारण लामो समयसम्म क्यासिनो सञ्चालन गर्न नपाउँदा सरकारलाई तिर्ने करिब ५१ करोड राजश्व तीर्न सकेको थिएन । त्यसका अलावा काठमाडौंमा सञ्चालित सांग्रिलाको क्यासिनोको भाडा, टाइगर प्यालेसमा सञ्चालित क्यासिनोको भाडा तथा अन्य बक्यौता गरि धेरै रकम तिर्नुपर्ने भएका कारण आफैले क्यासिनो सञ्चालन गर्न नसक्ने अवस्था भएकाले सञ्चालकहरु क्यासिनो सञ्चालन नगर्ने निर्णयमा पुगेको थिए ।
एसएमएसके कम्पनि गत आर्थिक वर्षमा १ अर्ब २० करोड घाटामा थियो । सोहि घाटा पुर्ति गरि कम्पनि नाफामा लैजान कठिन भएको भन्दै सबै शेयरधनिको सहमतिमा साधारण सभाले कम्पनि बन्द गर्ने निर्णय गरेको थियो । सो साधारण सभामा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीको तर्फबाट सञ्चालकहरु बुद्धीसागर सुवेदी र दीपक गौतम तथा टाइगर काठमाडौं इनभेष्टमेण्ट प्रालिको तर्फबाट सञ्चालक सदस्य संचित श्रेष्ठको हस्ताक्षर रहेको थियो ।
साधारणसभाको सोहि निर्णय बमोजिम एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले आव २०८१।८२ कालागी क्यासिनो नविकरणको आवेदन गरेको थिएन भने रिसोर्ट सञ्चालक टाइगर वान कम्पनिलाई समयमै आफुले क्यासिनो सञ्चालन गर्न नसक्ने जानकारी थियो । १० प्रतिशत शेयर रहेको टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिका तर्फबाट सञ्चालक सदस्य संचित श्रेष्ठले सरकारलाई बुझाउनुपर्ने राजश्व र अन्य दायित्व लिनुभन्दा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिलाई बन्द गर्न अनुरोध गरेका थिए ।
उनकै प्रस्ताव अनुरुपमा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालि बन्द गर्न सञ्चालक सदस्यहरु बुद्धिसागर सुवेदी र दीपक गौतम सहमत भएका हुन् । नेपालको नियम कानुन अनुसार काम गर्ने र नेपालको विकासमा टेवा पुर्याउने असल नियतका साथ गएका गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीको समुहले इमान्दारीपुर्वक लाभ कर, र क्यासिनोको बक्यौताबापतको करिब ५५ करोड नेपाल सरकारलाई बुझाइसकेको छ । कोभिडको समयमा क्यासिनो बन्द भएर तलब नपाएका टाइगर प्यालेसका मजदुरको समस्या समेत हल गरेको छ ।
काठमाडौंमा रहेको होटेल सांग्रिला हाल सञ्चालनमा नभएका कारण त्यहाँका मजदुर समस्या समाधान गर्न कठिन भएको सञ्चालकको भनाई छ यद्यपी टाइगर वानमा भएको श्रमिक समस्या भने हल भएको छ । नियमित रुपमा व्यवसाय सञ्चालनमा आएमात्र अन्य समस्याहरु समाधान हुँदै जानेछन, तर व्यावसाय नै बन्द गरेर त राज्यले के पाउला र ? अध्यक्ष सुवेदीले गुनासो गरे ।
कम्पनी सञ्चालकहरु र पर्यटन विभागका उच्च सरकारी अधिकारीहरुलाई नाजायज र कपोकल्पित आरोप लगाएर झुटा समाचार फैलाई रहेका विरुद्ध साइवर व्युरो र नेपाल प्रेस काउन्सीलमा उजुरी दिने तयारी रहेको सञ्चालक दीपक गौतमले बताएका छन । नेपाली प्रेसको निष्ठालाई गिराउन खोज्ने माफिया र प्रयोग भएका मिडिया सञ्चालक विरुद्ध जस्तोसुकै कदम चाल्न पनि आफुहरु तयार रहेको सञ्चालक गौतमले बताए ।