हेटौँडा \ हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मंगलवार वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । नवौं सामुदायिक वन दिवसको अवसर पारेर समूहले ब्लक नं. ६ मा रहेको विपि गणेशमान स्मृति शान्ति पार्कमा आँप, लिचि, एभोकाडो, नीम, बेल, बडहर, टाँकी र विभिन्न प्रजातीका फूलहरु समेत गरि करिव ५ सय विरुवाको वृक्षारोपण गरेको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीले वन समूहले सबै क्षेत्रमा गरेको काम उत्कृष्ट रहेको बताए । वनको उत्पादकत्व बढाउन र वनलाई जैविक विविधतायुक्त वन बनाउन वनको व्यवस्थापन र वनको सदुपयोग अपरिहार्य रहेको बताए ।
उपभोक्ता र वन्यजन्तु बीचको द्धन्द घटाउन वनमा विभिन्न प्रकारका फलफूल र गैरकाष्ठ वनपैदावारजन्य विरुवा लगाउनु पर्नेमा उहाँको जोड थियो । उपभोक्ताहरुको चाहना र वनको हैसियतमा सुधार ल्याउनुको साथै पारदर्शीता र जवाफदेहितामा रानी सामुदायिक वनको काम प्रशंसायोग्य रहेको अधिकृत चन्द्रबंशीले बताए ।
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, हेटौडा–६ का निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, महिला समूह, सञ्चारकर्मी, उपभोक्ता लगायतको सहभागिता थियो । कार्यक्रममा खेलाडीहरुलाई खेल सामाग्री र महिला समूहलाई स्टेशनरी सामाग्री प्रदान गरिएको थियो ।