हेटौंडा \ मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ९० जनाले नेकपा एमालेको सदस्यता लिएका छन् ।
मकवानपुरगढी–२ मा शनिवार भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय मदन मुक्तान र टेकबहादुर थिङ तथा माओवादी केन्द्रका नेता रामबहादुर लुङ्बाको नेतृत्वमा ९० जना नेकपा एमालेमा प्रवेश गरेको एमाले गाउँकमिटी सविच रोमनाथ रेग्मीले जानकारी दिए ।
एमाले रोजेका तीनै जना नेताहरुले २०७४ पछिको पाँच वर्ष एमालेले नेतृत्व गरेको गाउँ सरकार र हाल कांग्रेस–माओवादीले नेतृत्व गरेको सरकारको २ वर्षको कामलाई मुल्यांकन गरेरै पार्टी प्रवेशको निर्णय लिएको बताए । कार्यक्रममा उनीहरुले एमाले रोज्नुको कारण बताउँदै पूर्वाधार, शिक्षा र रोजगारी सृजनाको सबालमा एमाले नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य तथा मकवानपुरगढी इञ्चार्ज निर्मला लम्साल, पार्टी जिल्ला सदस्य तथा मकवानपुरगढी इञ्चार्ज बिदुर हुमागाईं, जिल्ला सदस्य तथा सहइञ्चार्ज मेम्मर लो, पार्टी गाउँ कमिटी अध्यक्ष जितबहादुर घिमिरेलगायतले मकवानपुरगढीको विकास, रोजगारी सृजनासँगै नागरिकको हकअधिकार रक्षाका लागि एमाले प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए ।
पार्टी वडा कमिटी अध्यक्ष चन्द्रबहादुर आलेको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी गाउँ कमिटी उपाध्यक्ष चन्द्र योञ्जन, सचिव रोमनाथ रेग्मी, सदस्यहरु कृष्ण पुडासैनी, उत्तम अधिकारीलगायतको आतिथ्यता थियो ।
एमाले मकवानपुरगढी गाउँ कमिटीको शुक्रबार मक्राञ्चुलीमा भएको दोस्रो पूर्ण बैठकले पार्टीको संगठन निर्माणलाई सशक्त बनाउँदै सदस्य विस्तारमा जोड दिने कार्ययोजना तयार गरेको थियो । पार्टी केन्द्रीय सदस्य केदार न्यौपाने, पार्टी जिल्ला अध्यक्ष श्रीधर पोख्रेललगायतको उपस्थितिमा भएको बैठकले वार्षिक कार्ययोजना पास गरेसँगै अभियानलाई शनिवारबाट सुरु गरिएको पार्टी गाउँ कमिटी अध्यक्ष घिमिरेले बताए ।