मकवानपुरगढी \ सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले नवौं सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा वृक्षारोपण गरिएको हो ।
सो अवसरमा बेल, पारिजात, मेङगोस्टीक, रक्तचन्दन, तेजपत्ता, श्रीखण्ड र अमला लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको समूहले जनाएको छ । डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशीको प्रमुख आतिथ्यता एवम महासंघका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै वन अधिकृत चन्द्रबंशीले वृक्षरोपणले नाङ्गाडाँडालाई हरियो बनाउन महत्वपूर्ण भूमिका रहन्छ ।
वन जङ्गल घट्नाले वन्यजन्तुले खेती उत्पादन खाने गर्ने गरेको छ । वन्यजन्तु रोक्न वन क्षेत्रमा फलफुलका विरुवा रोप्नुपर्ने बताए । उनले मकवानपुरगढीमा करिब पाँच सय फलफुलका विरुवा पठाइएको बताए । खाद्य जोगाउन गाह्रो छ, तपाईहरुले गरेको नगदेवाली बेसार खेतीलाई थप विस्तार आग्रह गर्दछु । तीन तहको सरकार सँग सहकार्य गरी कार्यालयले काम गरिरहेको बताए ।
कार्यक्रममा मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहाल, सामुदायिक वन उपभोक्ता महासंघ, केन्द्रीय सदस्य रामहरि चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेश कोषाध्यक्ष नानी मायाँ रुम्बा, सदस्य जीत बहादुर घलान, सव डिभिजन वन कार्यालय, मकवानपुरगढीका प्रमुख विशाल लामा, फरेष्टर देवेन्द्र सञ्जेल, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, स्थानीय महासंघ, मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी, सचिव दुर्गा घोरसाईनी, बुङदल सामुदायिक वनका अध्यक्ष भीमबहादुर अधिकारी, नमुना सामुदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने, सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।