हेटौंडा \ जिल्ला प्रहरी कार्यालय मकवानपुरले नौ जना भारतीय नागरिकलाई आज पक्राउ गरेर सार्वजनिक गरेको छ । कम्पनी दर्ता गरेर उद्देश्य अनुरूप कार्य नगरेको आरोप लगाउँदै प्रहरीले नौ जनालाई पक्राउ गरेर आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुको कार्यालयबाट ल्यापटप, मोवाइल, हेयरफोन लगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले बताए । हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथमा मेडी असिस्ट कम्पनीको कार्यालय स्थापना गरी अवैध कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले कम्पनीको ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्डडिस्क १ थान, हेडफोन ४ थान, वेभ क्यामेरा १ थानलगायत सामानहरू बरामद गरेको छ । पक्राउ परेका ९ जना काम गर्ने कर्मचारी रहेको र तलब १८ हजारदेखि ५० हजार रुपैयाँ नगदमै बुझ्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीले भारतको पटना थाना आलमगंजका २८ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, नैनिताल उत्तराखण्डका २६ वर्षीय आशिष कब्डौला, राँची झारखण्डका ३४ वर्षीय विशाल कक्कडलाई पक्राउ गरेको हो । यसैगरी राँची झारखण्डका ३८ वर्षीय लोकेशकुमार दुवे, राँची झारखण्डकै २९ वर्षीय विकासकुमार सिंह, नांगलोड वेस्टी दिल्लीका २८ वर्षीय अरुण कुमार र गजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मालाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकामा मेडी असिस्ट कम्पनी दर्ता गरी मानव स्वास्थ्यसम्बन्धी अन्य सेवा प्रदान गर्ने गरी राजस्व कार्यालयमा प्यानमा दर्ता गरेका थिए । १२ भारतीय नागरिक मिलेर उक्त कम्पनी खोलेका थिए । तीन जना अझै फरार रहेको बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।
भारतको राँचीस्थित हेड अफिसमा मेन सर्भर राखी काम गर्ने गरेको प्रहरीले बताएको छ । कम्पनीबाट हुने गरेका कुनै पनि काम-कारबाहीको डाटा नेपालमा नराखी भारतस्थित हेड अफिसको सर्भरमा राख्ने गरेको पनि खुलेको छ । जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो, सो अनुसारको कुनै पनि कार्य अहिलेसम्म नगरिएको प्रहरीको दाबी छ । निज प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम दण्ड सजाय हुने प्रहरीले जनाएको छ ।