हेटौँडा \ नवौं सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले शुक्रवार हेटौँडामा विचार गोष्ठी सहित सञ्चारकर्मी र सामुदायिक वन समूहलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले सामुदायिक वनले वनको संरक्षणका साथै सामाजिक, शैक्षिक, स्वास्थ्य तथा धार्मिक क्षेत्रकोे विकासमा महत्वपूर्ण काम गरेको बताए । वातावरण सन्तुलन, हरियाली प्रवर्धनमा गरेको काम विश्वले प्रशंसा गरेको बताउदै वन क्षेत्रको समग्र विकासमा तीने तहको सरकारले सहयोग गर्नु पर्नेमा जोड दिए ।
डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रबंशीले सामुदायिक वनले अव वन ब्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने बताउदै वनबाटै समृद्धि ल्याउन सकिने बताए । कतिपय सामुदायिक वन समूह निष्क्रिय रहेको र त्यस्ता समूहलाई सक्रिय बनाउन महासंघ क्रियाशिल हुनु पर्ने र यसको लागि वन कार्यालय सहयोग गर्न सदैव तयार रहेको बताए ।
कार्यक्रममा सामुदायिक वनले गरेका क्रियाकलापहरुलाई जनसमुदाय माझ पु¥याउन महत्वपूर्ण योगदान गर्ने सञ्चारकर्मी भीमसेन पौडेल र वनडढेलो नियन्त्रणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बुद्धिप्रसाद पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको थियो । यसैगरि सामुदायिक वनको विभिन्न विद्यामा उत्कृष्ठ कार्य गर्ने सामुदायिक वन समूहलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
हेटाैँडा-६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन हेटाँैडा–८ मा रहेको चित्रेपानी सामुदायिक वन हेटौडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन, हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन, मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वन र स्थानीय महासंघ थाहालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका प्रमुख रघुराम पराजुली, सामुदायिक वन उपभोक्ता महासंघ,केन्द्रीय सदस्य रामहरि चौलागाई, वन विशेषज्ञ जगदिश चन्द्र बराल, फेकोफन बागमती प्रदेश कोषाध्यक्ष नानी मायाँ रुम्बा, नेपाल हस्तकला संघ, बागमती प्रदेश उपाध्यक्ष कमला सुवेदी, फेकोफन मकवानपरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, थाहा अध्यक्ष गणेशमान श्रेष्ठ, चनौटा सामुदायिक वनका अध्यक्ष हरिशरण पौडेल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, चित्रेपानी सामुदायिक वनकी अध्यक्ष बाल कुमारी थापा, विभिन्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता,सञ्चारकर्मी लगायतको सहभागिता थियो ।