लुभेन \ गैरआवासीय नेपाली संघ बेल्जियमको १८ औ साधारण सभा सम्पन्न भएको छ । १९ अगस्ट गत सोमबार लुभेनमा सप्पन्न साधरण सभामा उत्कृष्ट सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अतिथ्यता र गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाको सभापतित्वमा साधारण सभा भएको हो । कार्यक्रमका प्रमुख अतिथि राजदुत राजभण्डारीले बेल्जियमको नेपाली समुदाय सामाजिक गतिविधिमा निकै सक्रिय रहेको र एनआरएनए लगायतका संघ संस्थाले नेपालका लागि गरेको सहयोग र बेल्जियममा नेपाल चिनाउन खेलेको भूमिका निकै प्रशंसनीय रहेको बताए । उनले सकिन लागेको आफ्नो चार वर्षे कार्यकालमा यहाँको नेपाली समुदायको विकास, उन्नती देखेको र त्यसका लागि नेपाली संघ संस्थाहरुका सामुहिक प्रयासले सहयोग पुगेको बताए ।
राजदुत राजभण्डारीले नेपाली दुतावास र बेल्जियमको नेपाली समुदायको संयुक्त प्रयासमा नेपालका लागि भएका सकारात्मक कामबाट सिकेर भविष्यका योजना बनाउन आग्रह गरे । एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, पूर्व अध्यक्षहरु प्रेम गुरुङ, गंगाधर गौतम, लोक दाहाल, चित्र सुवेदी, र खड्क बहादुर केसीले साधारण सभाको सफलताको शुभकामना दिनुका साथै आफ्ना कार्यकालका अनुभव र आगामी दिनका लागि सुझाव दिएका थिए । उनीहरुले आन्तरिक अनुशासनलाई दृढताका साथ संगठनका सबै सदस्यले पालना गर्नुपर्ने सुझाएका थिए । आईसिसी सदस्यहरु मदन दवाडी, हरी भट्टराई र भीम सुबेदीले साधारण सभाको सफलताको कामना गर्दै केन्द्रमा भएको विवाद र अदालति झमेलाले संगठनले सोचे जस्तो काम गर्न नसके पनि बेल्जियम एनसीसीले गरेको सामाजिक र परोपकारी काममा साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
साधारण सभामा बेल्जियममा सक्रिय सामाजिक, वैचारिक, क्षेत्रीय जातीय संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुले पनि एनआरएनए बेल्जियमले सामाजिक र सामुदायिक गतिविधि गर्दा सधैं सहयोग र सहकार्य गरेको र आगामी दिनमा यसको दायरा अझ बढाउन सकोस भनेर शुभकामना दिएका थिए । एनआरएनए बेल्जियमका उपाध्यक्ष एवम् साधारण सभाका संयोजक लोकेन्द्र नेपालले अतिथिहरुलाई स्वागत गरेका थिए भने अर्का उपाध्यक्ष काशी दनैले संघले वर्षभरी गरेको कामबारे स्लाइड सो सहित छोटकरीमा कार्यविवरण र कार्ययोजना प्रस्तुत गरेका थिए ।
साधारण सभाको बन्द सत्रमा विधान समिति संयोजक सुभाष जोशी, मनिष गुरुङ र दीपक न्यौपानेले प्रस्तुत गरेको विधानका केही संसोधित दफा पारित गरेको थियो । कोषाध्यक्ष अजित तुलाचनको आर्थिक प्रतिवेदन र उपमहासचिव राजेन्द्र कार्कीको प्रगति प्रतिवेदन साधारण सभाले पारित गरेको थियो ।
सो अवसरमा एनआरएनए बेल्जियमले भाषा, संस्कृति, खेलकुद लगायत नेपाली समुदायका लागि विविध क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अग्रज अभियन्ताहरु क्रमशः बालेन्द्र गुरुङ, बिनिता रिमाल,गोरख घले, बलराम पुन र नारायण अधिकारीलाई सम्मान गरिएको थियो। एनआरएनए बेल्जियमका सचिव रमेश दाहालले सम्मानित व्यक्तिको बारेमा प्रकास पारेका थिए ।
उपमहासचिव राजेन्द्र कार्की र सचिव देबु श्रेष्ठ (सञ्जय) ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । महिला उपाध्यक्ष साबित्री गिरीले महिला विभागबाट भएका गतिविधिको विवरण प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको समापन गर्दै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले निर्वाचित भए पछि कार्यसमितिले गरेका संस्थागत प्रयासबाट जाजरकोट भुकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण, इजरायल हमास युद्धमा मारियाका विद्यार्थीका परिवारलाई गरिएको सहयोग लगायत बेल्जियमका नेपाली समुदायका कार्यक्रममा सहयोग ऐक्यवद्धता जनाउन सकिएको बताई । असल नियतले सामाजिक काम गर्दा भष्ट्रचार भयो भनेर हतोत्साही बनाउने प्रयास भएको भन्दै संस्थाको एकएक पैसाको हिसाब राखिएकोले भ्रममा नपर्न आग्रह समेत गरिन् । उनले सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्नेहरुलाई समाजले नै सहि गलत छुट्याएर उचित समयमा उचित सजाए दिनेछ भन्दै साधारण सभा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।