हेटौंडा \ नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा नेपाली कांग्रेस मकवानपुरले सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदानप्रदान गरेको छ । पार्टीले बुधबार हेटौंडाको एक पार्टी प्यालेसमा सयौँ महिला कार्यकर्ताको उपस्थितिमा भव्य सांस्कृतिक कार्यक्रमका साथ तीज पर्वको शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले तीजको शुभकामना व्यक्त गर्दै महिलाको अधिकार सशक्त गर्ने दिशामा पार्टी लागिपरेको बताए । महिलाहरुले आफ्नो नेतृत्व र व्यक्तित्व विकास गर्दै स्वस्थ प्रतिष्पर्धामार्फत नेतृत्वका लागि अग्रसर हुन सभापति बानियाँले आग्रह गरे । नेपाली कांग्रेसले बोक्ने लोकतान्त्रिक विचारमा सबै अटाउने भन्दै उनले समाजका आधा हिस्सा ओगटेका महिलालाई अधिकार र अवसर प्रदान गर्न पार्टी सधैँ तत्पर रहेको बताए ।
अबको संविधान संशोधनमा विभिन्न तहमा प्रमुख या उपप्रमुख मध्ये एउटा अनिवार्य महिला हुने व्यवस्थालाई थप कडाईका साथ उल्लेख गर्न पार्टीले पहल गर्ने पनि सभापति बानियाँले प्रतिवद्धता जनाए । ‘राजनीतिक दलबीच गठबन्धन हुँदा विभिन्न तहमा महिला नेतृत्वबाट बन्चित हुने अवस्था देखियो, यो अन्त्य गर्न अबको संविधान संशोधनमार्फ राष्ट्रपति उपराष्ट्रपतिदेखि पालिका प्रमुख उपप्रमुखसम्म एक जना अनिवार्य महिला हुने व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता गर्छु ।’ बानियाँले भने । हरेक चाड पर्व धर्म संस्कृितको सम्मान र प्रवद्र्धन गर्न नेपाली कांग्रेस प्रतिवद्ध रहेको उनको भनाइ थियो ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी बागमती प्रदेश सदस्य जानकी लामा, पार्टी महासमिति सदस्य उर्मिला पुलामी, लक्ष्मी थिङ, पार्टी बागमती प्रदेश महिला विभाग सदस्य कमला मैनाली, हेटौंडा उपमहानगर उपसभापति डोल्मा स्याङ्बो, बकैया गाउँपालिका–१० की निर्वाचित वडाध्यक्ष कमला वाइबा, ५ नम्बर वडाध्यक्ष लक्ष्मी जिम्बा, नेतृ गीता न्यौपानेलगायतले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आफ्नो क्षमता र हैसियतअनुसार सन्तुष्ट भएर मनाउन शुभकामना दिएका थिए । कार्यक्रमकाबीच विभिन्न तीज गीतमा नृत्य प्रस्तुती, गायनका साथै तामाङ सेलोसमेत गाएर मनोरञ्जन गरिएको थियो ।