मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ मा सोमबार सहकारीसँग सम्बन्धित विषयमा बृहत छलफल गरिएको छ । वडा कार्यालयको आयोजना वडाध्यक्ष आइतसिं लोको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । वडा १ मा रहेका सहकारीलाई सक्रिय र सशक्त रुपमा अघि बढाउने उद्देश्यका साथ अन्तरक्रिया आयोजना गरिएको वडाध्यक्ष लोले बताए ।
कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास, विपद् तथा सहकारी शाखाका प्रमुख सुर्यबहादुर गुरुङले सहकारीका नीति, नियम र पछिल्लो परिमार्जित सहकारी ऐनका विषयबारे सहजीकरण गरेका थिए । उनले सहकारीभित्र रहेका विकृति विसंगतीलाई अन्त्य गर्दै सहकारीप्रति घातगर्नेलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न मिल्ने विषयमा समेत जानकारी गराएका थिए ।
त्यस्तै, अन्तरक्रिया कार्यक्रममा जनहित स्वावलम्बन साकोसका अध्यक्ष तथा सञ्चारकर्मी श्रीराम अर्जुनले सहकारी सञ्चालनका साथै पछिल्लो सहकारी संस्था क्षेत्रको विषयमा आफ्नो अनुभव साटेका थिए । उनले सहकारीमा नेतृत्वको महत्वपूर्ण भूमिका रहनुका साथै कर्मचारीको लगनशीलता र मेहेनतले सहकारीलाई सहज रुपमा सञ्चालन गर्न सकिने बताए । अन्तरक्रियामा बचत र ऋण, नगद मौज्दात, बैंक मौज्दात, भाका नाघेको ऋण, कोपोमिस सफ्टवयर बारे, साधारण सभा, लेखा परिक्षण र अन्य सहकारीसँगको सहकार्यका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य फूलमाया टुप्पा, वडा सदस्यद्धय सोमलाल भ्लोन र सुन्तली विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष तथा वडा १ मा रहेका टोल विकास संस्थाका अध्यक्षहरु, हिमशिखर सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम भोम्जन लगायत सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो ।