हेटाैंडा \ चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पसमा गत भदाै १३ गते आफ्ना विद्यार्थी नेताहरुमाथि कुटपिट भएकाे विराेधमा नेपाल विद्यार्थी संघले कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडामा तालाबन्दी गरेकाे छ । विश्वविद्यालयको केन्द्रीय एवम् सम्पूर्ण आङ्गिक क्याम्पसहरू, कृषि संकाय र वन विज्ञान संकायमा सम्पूर्ण प्रशासनिक, शैक्षिक र परीक्षाका कामकाजहरु बन्द गर्ने कार्यक्रमअन्तरगत नेपाली विद्यार्थी संघले मंगलबार बिहान हेटाैंडास्थित वन विज्ञान संकायमा तालाबन्दी गरेकाे हाे ।
नेपाल विद्यार्थी संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडामा ईकाई समिति सभापति अस्मित घिमिरे, ईकाई निर्वतमान सभापति संकल्प सेढाई, ने वि संघ केन्द्रीय सदस्य मिलन पुडासैनीलगायतकाे नेतृत्वमा पुगेकाे टाेलीले कुटपिट घटनामा संलग्नलाई कारबाही तथा विश्वविद्यालयबाट निष्कासन तथा परिचालन गर्नेहरुमाथि पनि कारबाही नभएसम्मका लागि भन्दै तालाबन्दी गरेका हुन् । विश्विवद्यालयका रजिष्ट्रार, कल्याणकारी परिषद् एवम् त्यहाँको पदाधिकारीको नेतृत्वमा परिचालित अनेरास्ववियुका कार्यकर्ताले आफ्ना नेताहरुमाथि कुटपिट गरेकाे नेवि संघकाे आराेप छ ।
भदाै १३ गते इकाई समितिका निवर्तमान सभापति शुभम् सिंह ठकुरी, निर्वतमान उपाध्यक्षद्वय अभिषेक ओली, सुशील क्षेत्री, इकाई सचिव प्रितम भण्डारी, कोषाध्यक्ष कमन दाहाल, लगायत नरेश बस्नेत, जेनिश लामामाथि छात्रवासकै काेठामा धारिलाे हतियार प्रयाेग गरी कुटपिट भएकाे थियाे । कुटपिटबाट उनीहरु गम्भीर घाइते भएका छन् ।
कुटपिटमा अनेरास्वियुबाट परिचालित सक्षम काफ्ले, महेश खड्का, विनोद भण्डारी, चिरण खनाल, विवेक कुमार यादव, प्रशन्न पोखरेल, विवेक खत्री, नविन जैशी, एक राज पराजुली, पवन पुरी, अभयराज चालिसे, प्रेम थापा क्षेत्री संलग्न रहेकाे नेपाल विद्यार्थी संघले निकालेकाे विज्ञप्तिमा किटान गरिएकाे छ ।
विश्वविद्यालयको शैक्षिक र छात्रवासको जिम्मेवारी बोकेका इन्चार्ज, पदाधिकारी र प्रध्यापकहरु नै गैरजिम्मेवारी निज अमानवीय गतिविधिमा प्रत्यक्ष र अप्रत्यक्ष संगलन हुनु र पीडकलाई विश्विद्यालयका गाडी प्रयोग गर्दै प्रहरी संरक्षण दिनु दुखद भएकाे विज्ञप्तिमा उल्लेख छ । ज्यान मार्ने उद्देश्यले आक्रमण गर्नेहरुलाई अविलम्व विश्वविद्यालयबाट निष्कासन गर्नपर्ने र विद्यार्थी कल्याणकारी, रजिसष्टार र संलग्न पदाधिकारीहरुले राजिनामा दिनुपर्ने माग नेवि संघले राखेकाे छ ।