हेटौंडा \ खेलकर्मी र डकर्मी महिला जागरुक महिला सम्मानबाट सम्मानित भएका छन् । हेटौंडामा रहेको सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा डकर्मी र खेलकर्मी गरी दुई महिलालाई सामुदायिक सम्मान प्रदान गरेको हो । सम्मानित हुनेमा हेटौंडा ५ की खेलकर्मी सरेशा ढुङ्गाना र हेटौंडा १९ बस्तीपुरकी डकर्मी गौरिमाया सिन्तान रहेकी छिन् ।
ढुङ्गाना तीन दशकदेखि तेक्वान्दो खेलसँग आबद्ध रहेकी छिन् भने सिन्तान १२ वर्षदेखि डकर्मी पेशामा रहेकी छिन् । ढुङ्गाना मकवानपुरबाट तेक्वान्दो खेलको पहिलो महिला मेडलिष्ट हुन् । सिन्तान भने आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेर महिला मिस्त्रीका रुपमा परिचित रहेकी छिन् । दुवैजनालाई रेडियोले जनही नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ र रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गरेका हुन् ।
मन्त्री काफ्लेले रेडियोले फरक क्षेत्रमा चुपचाप काम गरिरहेका महिलालाई सम्मान गर्नु सकारात्मक पक्ष भएको बताए । सामान्य कामबाट पनि महिलाहरुको जीवनलाई प्रेरित गर्ने जागरुक महिला सम्मान गर्ने रेडियोको कदमको प्रशंसा गर्दै उनले सञ्चार जगतका यस्ता काममा प्रदेश सरकारको साथ रहने उल्लेख गरे । विगत १४ वर्षदेखि प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने महिलाहरुलाई सम्मानित गर्दै आइरहेको रेडियोले हालसम्म २८ जनालाई सम्मानित गरिसकेको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए । कार्यक्रममा रेडियोका सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरुको कामको सम्मान गर्दै उनीहरुको हौसला बढाउनु सामुदायिक सञ्चारमाध्यमको जिम्मेवारी समेत भएको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत, हेटौंडा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष डा.गणेश बल लामा लगायतले संस्कृतिको जगेर्ना गर्दै तीजलाई सभ्य र भव्य तवरले मनाउनुपर्ने धारणा राखे ।
रेडियोले आयोजना गरेको जागरुक महिला सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा कलाकारहरुले प्रत्यक्ष दोहोरी प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने १० जना सहभागीहरुलाई रेडियोले पुरस्कृत समेत गरेको छ । केदारनाथ सुनचाँदी पसल हेटौंडाको मुख्य प्रायोजनमा भएको कार्यक्रमलाई विभिन्न संघसंस्थाले सहयोग एवम् सहकार्य गरेका थिए ।