हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघले बुधबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्रीहरुलाई स्वागत,सम्मान तथा छलफल कार्यक्रम गरेको छ । प्रदेशका मुख्यमन्त्रीहरु सहित मन्त्रीहरुलाई बोलाएर उद्योगी र व्यवसायीहरुका समस्या पनि राख्ने र स्वागत सम्मान पनि गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवालले मुख्यमन्त्री लामा, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री श्याम बहादुर खड्का, स्वास्थ्य मन्त्री किरण थापा मगर, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुक मायाँ तामाङ, विना विभागीय मन्त्री मदु कुमार श्रेष्ठ, लगायतकालाई स्वागत सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले उद्योगी व्यावसायीहरुका समस्या समाधानमा प्रदेश सरकार लागिपर्ने बताउनुभयो । वर्षौ देखिका उद्योगीका समस्यामा आफुहरुले सहकार्य गरेर काम गर्ने बताउनुभयो ।
मुख्यमन्त्री लामाले उद्योगीसँग कर लिएपछि उनीहरुलाई सेवासुविधा पनि दिन जरुरी रहेको बताउनुभयो । ‘उद्योगका समस्याहरू धेरै छन् । लगानीकर्ताले जहिले पनि सुरक्षित महसुस गर्ने वातावरण राज्यले तयार पार्न जरुरी छ । त्यसका लागि कर छुट दिने हो वा अन्य सेवासुविधा यसविषयमा राज्य क्लियिर हुन जरुरी छ,’ मुख्यमन्त्री लामाले भन्नुभयो ।
मुख्यमन्त्री लामाले सर्वसाधारण, राजनीतिक दल र भ्रातृ संगठनले उद्योगीलाई दुःख दिने गरेको समेत बताउनुभयो । ‘कर्मचारीले पनि उद्योगीलाई दुःख दिने गरेका छन् । यो गलत हो,’ उहाँले भन्नुभयो। उद्योगी र सरकारबीच समन्वय हुन जरुरी रहेको उहाले बताउनुभयो।