नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपाली कांग्रेसका संस्थापक नेता महामानव वीपी कोइरालाको एकसय एघारौ जन्म जयन्तीको अवसरमा स्मृतिसभाको आयोजना गरेको छ । नेता कोइरालाको तस्बिरमा माल्यार्पण र स्वर्गीय कोइराला लगायतका स्वतन्त्रता सेनानी एवम् सहिदहरुको सम्मानमा मौनधारण गरी कार्यक्रमको सुरुवात भएको थियो ।
नेपाली राजनितिका शिखर व्यक्तित्व एवम् प्रजातान्त्रिक समाजवादका प्रवर्तक कोइरालाले नेपाली राजनीति र नेपाली साहित्यमा कोरेको मार्गचित्रमा नेपाली समाजलाई वर्तमान राजनीतिले डोर्याउन नसकेकोमा वीपीलाई श्रद्धान्जली दिन उपस्थित प्रवासका कांग्रेस कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।
वीपी कोइरालाको सम्झनामा बोल्नु भएका वक्ताहरुले वर्तमान राजनीतीले जनभावनालाई बोक्न नसकेकोले वीपीले लागु गर्न खोज्नु भएका नेपाली परिवेशको समाजवादको स्थापना हुन आवश्यक छ भन्नुभयो । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीलाई जनताका लागि काम गर्न नदिन सुरु गरिएको पञ्चायत र त्यस पछिको उदारवादी व्यवस्थामा राजनीतिक नेतृत्वमा आएको भ्रष्टिकरणले नेपाल दिनप्रतिदिन कमजोर बन्दै गएकोछ भन्दै चिन्ता प्रकट गरिएको थियो ।
वक्ताहरुले राजनीतिको शुद्धिकरणका लागि देशको माटो सम्झेर, जनताको भावना बुझेर, नेपालीहरुका नैतिक, साँस्कृतिक मुल्यमान्यता अनुसार राजनीती हुनुपर्छ भन्ने सुझाव दिनुभयो । नेपाली जनससम्र्पक समितिका संस्थापक सभापति ध्रुवराज पौडेल, पूर्व सभापति द्वय सुभाष जोशी र सीता सापकोटा, वरिष्ठ नेता उल्का घिमिरे, प्रेम गुरुङ, लगायतले वीपीलाई स्मरण गर्दै श्रद्धान्जली दिनुभएको थियो ।
अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष डिल्ली अम्माईले वीपीको साहित्यिक योगदानबारे चर्चा गर्दै कवितापाठ गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले पनि आधुनिक नेपालमा स्वर्गीय कोइरालाको योगदानबारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा नेपालबाट आउनुभएका पत्रकार गौतम र नेपाली कांग्रेसकी अग्रज तेजप्रभा खनाललाई सम्मान गरिएको थियो । नेपाली जनसम्पर्क समितिका उपसभापति विराट जोशीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महामन्त्री प्रकाश गिरीले गर्नु भएको थियो ।