हेटौँडा \ हेटौँडाका एकजना बिरामीमा हैजा पुष्टि भएको छ । बिरामी भई हेटौँडा अस्पतालमा उपचारका लागि गएको र थप उपचारको क्रममा पाटन हस्पिटलमा उपचार गराई फर्केका एक जना बिरामीमा हैजा पुष्टि भएको हो ।
हैजा पुष्टि भएका हेटौँडा–२ का बिरामीमाथि जनस्वास्थ्य कार्यालय मकवानपुरले पनि निगरानी राखेको सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । हैजा पुष्टि भएसँगै हामीले बिरामीको घरमा रहेको पानी, ड्रममा राखिएको पानीको पनी परिक्षण गयौँ, छिमेकीमा पनि पानीको परिक्षण गर्यौँ, सबै सामान्य नै पायौँ–सूचना अधिकारी घिमिरेले भने । बिरामी उपचारको क्रममा पाटन हस्पिटल बसेकाले त्यहीबाट हैजा सङ्क्रमण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
बागमती प्रदेशमा दुई महिनाको अवधिमा तीन जिल्लामा ६५ जनामा हैजा पुष्टि भएको छ । चालु आर्थिक वर्षको साउन र भदौमा ललितपुरमा ५२, काठमाडौँमा १२ र मकवानपुरमा एकजनामा हैजा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालका अनुसार साउनमा ५० र भदौमा १५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । गर्मी तथा वर्षायाममा विशेष गरी बालबालिकामा झाडापखाला, हैजा जस्ता रोग फैलिने भएकाले सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । झाडापखाला, हैजा जस्ता रोगबाट बच्न सरसफाइमा ध्यान दिन, स्वच्छ पानी तथा खाना खान, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै पटक पटक गरी खुवाइरहन स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भुसालले सुझाव दिए ।
सङ्क्रमितले प्रयोग गरेका धारा र इनारको पानी, ट्यांकरको पानी लगायतमा हैजाका जीवाणु देखिरहेका छन् । पानी नै हैजा सार्ने प्रमुख माध्यम बनेको छ । हैजा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ । वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जीवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा सङ्क्रमण गराउँछ । झाडापखालाको कारणमध्ये हैजाको सङ्क्रमण सबैभन्दा गम्भीर हो ।