हेटाैंडा \ संविधान दिवसको अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिएका छन् ।
संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसको अवसरमा प्रदशे प्रमुख देवकोटाले शुभकामना सन्देश दिँदै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता ओैंल्याएका छन् ।
‘जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको आज ९ बर्ष पूरा भएको छ । यस सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक बधाई,साथै शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुखद्वारा जारी सन्देशमा भनिएको छ ।
संविधान योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरुप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् । लामाे संघर्षपछि विसं २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सम्झना र सम्मान गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै आएको छ ।
‘केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएको उत्सवको दिन हो आज’ प्रमुखको सन्देशमा भनिएको छ।
यो ९ वर्षको अन्तरालमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन भएका र यसले संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएका सन्देशमा उल्लेख छ ।
साथै सकारात्मक कामको पहलमा सबैको ऐक्यवद्धता आवश्यक रहने पनि उनले बताए ।