हेटौंडा \ प्रदेश राजधानी हेटौंडा र मकवानपुरगढी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गर्दै भ्रमण गर्ने उद्देश्यले आउँदो शनिबार हेटौंडा सम्पदा यात्रा २०८१ हुने भएको छ । हेटौंडा-७ नागस्वतिमा रहेको हेटौंडा एडभेन्चर क्लबको आयोजनामा उक्त यात्रा कार्यक्रम गरिन लागेको हो ।
विहीबार क्लबले पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको थियो । क्लबका अध्यक्ष सुशील सुवेदीले पहिलो पटक हामीले धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गर्दै भ्रमण गर्न लागेको बताए । दुईपाङ्ग्रे सवारी साधनमा उक्त यात्रा गरिने उनले बताए । यात्रामा ६५ वटा मोटरसाइकल तथा स्कुटरमा करिब १३० भन्दाबढी व्यक्तिहरुको सहभागिता रहने अध्यक्ष सुवेदीले बताए । मकवानपुर सहित बारा र चितवन जिल्लाबाट पनि यात्रामा सहभागिहरु आउने उनले बताए ।
यात्रा हेटौंडा ४ पशुपति मन्दिरबाट सुरु भई नगरका भुटनदेवी मन्दिर, पाथिभरा, पुण्यक्षेत्र, स्मारक, वृन्दावन, कुष्माण्ड सरोवर। फरेष्टि गुम्बा, कर्रा गुम्बा, चुरियामाई मन्दिर, जुरेथुम, गुम्बाडाँडा, राजदेवी गुफा, सालक पार्क हुँदै मकवानपुरगढी दरवार क्षेत्र, वंशगोपाल मन्दिर, मनकामना मन्दिर, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, मनमोहन पार्क कमाने हुँदै वनदेवी मन्दिरबाट पशुपति मन्दिर हेटौंडा ७ न्यूरेनीमा समापन हुने अध्यक्ष सुवेदीले बताए । हामी करिब एकसय २० किलोमिटर लामो यात्रा गर्नेछौं, उनले भने ।
यात्रामा सहभागि बन्न दर्ता शुल्क रु. तीन सय लाग्ने छ भने आयोजकले एक थान जर्सी उपलब्ध गराउनुका साथै खाजा र खानाको व्यवस्थापन रहेको जनाइएको छ । कार्यक्रमका करिब तीन लाख खर्च हुने अध्यक्ष सुवेदीले बताएका छन् । उनले यस कार्यक्रमको माध्यमबाट हेटौंडा र मकवानपुरगढीमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार हुनुका साथै मोटरसाइकल मार्फत हेटौंडा घुम्न आकर्षण पैदा हुनु रहेको बताए ।
क्लबले आगामी दिनमा ४२ किलोमिटर म्याराथुन दौड गर्ने तयारी गरिरनुका साथै पाँच किलोमिटर सिटी दौड कार्यक्रम गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।