मकवानपुरगढी \ मकवानपुरगढी वडा नम्बर १ मा रहेको रानीसेरा माध्यामिक विद्यालयको शुक्रबार ३८ औँ अभिभावक भेला तथा सम्मान कार्यक्रम भएको छ । विद्यालय व्यवस्थापक समितिका अध्यक्ष आइतसिं लोको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भेला भएको थियो ।
भेलाको अवसरमा विद्यालयले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । भेलामा विद्यालयका संस्थापक अध्यक्ष लालबहादुर गोले सहित हाल सम्मका अध्यक्षहरुलाई सम्मान गरिएको विद्यालयका अध्यक्ष आइतसिं लोले बताए । यसैगरी विद्यालय स्थापना कालदेखी सुवातसिं थिङ र अच्छेलाल यादव लगायत सम्पूर्ण पूर्व प्रध्यानाध्यापकहरुलाई पनि सम्मान गरिएको थियो । पूर्व जनप्रतिनिधि, विद्यालयका पूर्व शिक्षक र कर्मचारीहरुलाई पनि भेलामा सम्मान गरिएको अध्यक्ष लोले बताए ।
सोही अवसरमा विद्यालयमा सहयोग प्रदान गर्ने हिमशिखर सामूदायिक वन उपभोक्ता समूह, इन्द्रज्योति सामूदायिक वन उपभोक्ता समूह र रानी सामूदायिक वन उपभोक्ता समूहलाई सम्मान गरिएको थियो । भेलाकै अवसरमा स्थापना कालदेखी हालसम्मका अध्यक्ष, पूर्व प्रधानाध्यापक, शिक्षक लगायत विद्यालयसँग जोडिएका सबै व्यक्तित्वहरुलाई भेटघाट गराई पूर्नमिलन कार्यक्रम समेत गरिएको अध्यक्ष लाले बताए ।
भेलाबाट व्यवस्थापक समितिका लागि ४ जना नयाँ समिति सदस्य चयन समेत गरिएको छ । भेलाले सलिना भोलन, दुखमाया लुङबा, मानबहादुर घलान र विश्वशान्ति लामा चयन गरेका छन् । चार जना निर्वाचित सदस्यले अध्यक्ष चयन गरि समिति विस्तार गरिने जनाइएको छ ।
भेलामा गाउँपालिका शिक्षा शाखा प्रमुख राम घलान, कार्यपालिका सदस्य फूलमाया टुप्पा, वडा सदस्य सुन्तली विश्वकर्मा, सोमलाल ब्लोन, लालबहादुर लामा, विद्यालयका संस्थापक अध्यक्ष लालबहालुर गोले, गाउँपालिका शिक्षा शाखा फोकल पर्सन कमल फुँयाल लगायत विभिन्न सामाजिक संस्थाका तथा टाेलविकास समितिका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । भेलामा विद्यालयका प्रधानाध्यापक सुन्दर सिं लोले विद्यालयको प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।