मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित बुङ्दल समूदायिक वन उपभोक्ता समूह आयोजनामा सामूदायिक वन र वन उद्यम समूहबीच उपयुक्त साझेदारीमा मार्गदर्शन गर्न र नियम र सर्तहरुमा सहमती निर्माण गर्न, सुविधा प्रदान गर्न, लाभ साझेदारी ड्राफ्ट निर्माण गर्न विहीबार बृहत छलफल गरिएको छ ।
वन समूहका उपाध्यक्ष रादिका छत्कुलीको अध्यक्षतामा गरिएको अन्तरक्रियामा कृषि तथा वन सहज कार्यक्रमका प्रशिक्षक केपी उपाध्यायले उद्यमको लगानी व्यवस्थापन कसरी गर्ने, लाभको व्यवस्थापन कसले, कति, कसरी र कतिवेला बाँड्नुका साथै राख्ने भन्ने विषयमा सहजीकरण गरेका थिए ।
उनले बाँडफाँडको मोडल, तालिम क्षमता अभिवृद्धि, सामूहिक अपनत्व, पारदर्शिता, सहभागिताको निर्णयका साथै स्थानीय स्रोत साधन प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । तीन दिनको तालिम पश्चात विहीबार उपयुक्त साझेदारीमा नियम र सर्तहरुमा सहमती निर्माण गरेर खुद नाफाको रकमको बाँडफाँड गर्नेगरी नियम समेत तयार गरेका छन् ।
नाफाको २० प्रतिशत आपलकालीन कोषमा, पुनलगानीमा ४० प्रतिशत, मूल समूहमा २० प्रतिशत र उद्यमी महिला(व्यक्ती)मा २० प्रतिशत छुट्याइएको छ । त्यस्तै लगानीको स्रोत भने मूल समूहले व्यवस्थापन गर्ने, उद्यमीहरुबाट केही रकम, विभिन्न सहयोगी दाता संघसंस्थाबाट अनुदान लगायत रहेको भनी छलफल गरिएको थियो । सामूदायिक वन ऐनमा रहेर महिला उद्यमी समूहको कार्यविधि बनाएर अघि बढाइने जनाइएको छ । वन क्षेत्रमा बुङदल महिला आयआर्जन कृषि समूहले बेसार र अदुवा खेती गर्दै आइरहेको छ ।
कार्यक्रममा सामूदायिक वन उपभोक्ता महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, कृषि तथा वन सहज कार्यक्रमका प्रशिक्षक केपी उपाध्याय, वन समूहका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद दुलाल, फेकोफन जिल्ला सदस्य संगीता घिमिरे, कार्यक्रम संयोजक सन्ध्या शिवाकोटी, बुङदल महिला आयआर्जन कृषि समूहका अध्यक्ष विन्दा लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।