मनहरी \ मकवानपुरको मनहरी गाउँपालिकाले निर्वाचित पश्चात गरेको एक सय दिनेको कार्य विवरण बुधबार सार्वजानिक गरेका छन् । पालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै पालिका अध्यक्ष रन्जन कालाखेतीले एक सय दिनमा भएका गाउँपालिकाको कार्यहरु पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरेका हुन् ।
सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर श्रेष्ठ लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
सय दिनका कार्यहरु सार्वजानिक पश्चात सञ्चारकर्मीहरुको प्रतिप्रश्नहरुको जवाफ अध्यक्ष, उपाध्यक्षले दिएका थिए ।
यी हुन गाउँपालिकाले गरेका सय दिनका कार्य विवरणहरु:-
१) गाउँ कार्यपालिकाका थप ९ वटा बैठक बसी हालसम्म ७० वटा निर्णयहरु भएका छन् । नवनिर्वाचन पश्चात बसेको बैठकहरु भएको हुँदा गाउँपालिकामा विद्यमान विभिन्न समितिहरु पुनर्गठन भएका छन् । गाउँ कार्यपालिकाले गरेका अधिकांश निर्णय कार्यान्वयन भएका र कतिपय निर्णय कार्यान्वयन हुने क्रममा छन् ।
२) नवनिर्वाचित गाउँपालिकाको यो टिमले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई जोड दिँदै साविकमा रहेको गाउँपालिकाको नारालाई परिवर्तन गरि शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार समृद्ध मनहरीको आधार नारा तय गरि सोही अनुसार २०७९।०८० को नीति तथा कार्यक्रम गाउँसभाको अधिवेशनमा प्रस्तुत गरी सर्वसम्मतिले पारित समेत भएको छ ।
३) कार्यालयको कामलाई व्यवस्थित, वैधानिक एवं पारदर्शी बनाउन गाउँपालिकाका ८ वटा कार्यविधि/ निर्देशिका बनाई लागू गरिएको ३ वटा संशोधन गरि कार्यान्वयनयोग्य तुल्याईएको छ ।
४) मनहरी अस्पतालको अस्थायी भवन निर्माण सम्पन्न भइ सोही भवनबाट सेवा प्रवाहको व्यवस्था हुँदै रहेको र मिति २०७९।५।१ गतेदेखि ओपिडि सेवा समेत विस्तार गरिएको छ ।
५) हाँडीखोला स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि निशुल्क भिडयो एक्सरे सेवा सञ्चालनमा ल्याइएको छ ।
६) गाउँपालिका र सामुदायिक आँखा अस्पताल हेटौडाबीच सम्झौता भइ गाउँपालिकाको वडा नं. ७ मा दैनिक आँखा सम्बन्धी सेवाको निरन्तरताका साथै मोतियाबिन्दू भएका गाउँपालिका भित्रका बिरामीहरुका लागि निशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।
७) रजैयाका विभिन्न ३ वटा भाडाका घरहरुमा रहेका स्वास्थ्य शाखा, भूमि व्यवस्था शाखा, सामाजिक विकास शाखा, कृषि विकास शाखा, पशुपन्छी विकास शाखा, शिक्षा तथा खेलकुद शाखा, महिला बालबालिका तथा समाज कल्याण शाखा, रोजकगार सेवा केन्द्र न्यायिक शाखा लगायतलाई गाउँपालिकाको स्वामित्वमा रहेको लामिटार स्थित समावेश भवनमा सारि घरभाडाका रुपमा भइरहेको अनावश्यक व्ययभारलाई कम गरिएको छ ।
८) गाउँपालिकाले प्रदान गर्दै आएको सेवा सुविधा नागरिकको घरदैलोसम्म पुर्याउन स्थापित वडा कार्यालयमा प्रशासनिक कर्मचारीको व्यवस्था भइरहेको भएतापनि प्राविधिक जनशक्तिको अभाव खट्किरहेको परिप्रेक्षमा प्रत्येक वडा कार्यालयमा कम्तिमा एक जना प्राविधिक कर्मचारीको व्यव्थापन गर्नको लागि पदपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ ।
९) म्यानुअल रुपमा रसिद जारी गर्दा हुन सक्ने हिनामिना र चुहावटलाई मध्यनजर गर्दै गाउँपालिकाले यसै आव बाट नदीजन्य पदार्थको विक्री आयलाई ब्यवस्थित र पारदर्शी वनाउन कर संकलन नाकामै अनलाईन विलिङ गर्ने गरि राजश्व सफ्टवेयर तयार गरी कार्यान्वयनमा ल्याउने चरणमा रहको छ ।
१०) आन्तरिक आयलाई थप ब्यवस्थित, मजवुद र बृद्दि गर्ने तथा स्थानीय विकास निर्माण कार्यलाई निर्माण सामग्रीको उपलब्धता सुलभ वनाउने प्रयास स्वरुप मनहरी खोला उत्खनन गरी गाउँ कार्यपालिकाको निर्णय बमोजिम २६,१०० घनमिटर नदीजन्य पदार्थको उपयोग गरिएको ।
११) राप्ती खोलाको सतह वढदै गएका कारण उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि प्राविधिक अध्ययन गराई १४ लाख घनमिटर ग्राभेल हटाई नदीको किनारा सुरक्षित गरी प्राप्त हुने नदीजन्य श्रोतलाई राजश्व वृद्दीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा अनुमतिका लागि स्थलगत अध्ययन प्रतिवेदन पेश गरिएको छ ।
१२) यस गाउँपालिकाको २०७७/०७८ सम्मको बेरुजू रकम ३५ करोड ७९ लाख १६ हजार मध्ये ५ करोड ३६ लाख २४ हजार सम्परीक्षण गराई हालसम्मको बेरुजू रु ३० करोड ४२ लाख ९२ हजार बाँकी रहेकोमा मिति २०७९ असार १० गते बसेको गाउँ सभाको एघारौं अधवेशनद्वारा गठित लेखा समितिबाट ६ करोड १७ लाख ८५ हजार ५सय ३४ रुपैयाँको बेरुजू नियमित गराई सम्परीक्षणको लागि महालेखा परीक्षक कार्यालयमा पेश गर्ने चरणमा रहेको छ । साथै यस अवधिमा ३ लाख ५७ हजार असूल समेत भएको छ ।
१३) गाउँ कार्यपालिका कार्यालयको प्रशासनिक भवन निर्माणका लागि आवश्यक कागजातहरु जुटाई अनुमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमापेश भएकोमा मन्त्रालयले वन तथा वातावरण मन्त्रालयमा पठाइसकेको र मन्त्रिपरिषद्बाट स्वीकृत भइ आए पश्चात भवन निर्माणको कार्यलाई अगाडी बढाइने छ ।
१४) नेपाल सरकार तथा मनहरी गाउँपालिकाको संयुक्त ५० प्रतिशत लगानीमा कृषकको ५० प्रतिशत लगानीमा १ करोड ०५ बराबरको विभिन्न १४ किसिमका कृषि औजार गाउँपालिकाका कृषकहरुलाई वितरण गरिएको छ ।
१५) गाउँपालिकाले हावाहुरीबाट घरको छानो पुर्ण क्षति भएका परिवार पहिचान गरी ५० परिवारलाई प्रति परिवार रु
२० हजार को दरले र आंशिक क्षति भएको १ परिवारलाई रु। १० हजारको दरले जम्मा रु दश लाख दश हजार आर्थिक सहायता वितरण गरेको छ। यसबाट क्षति भएका परिवारले ठूलो राहत महशुस गरेका छन् ।
१६) आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा औषधि उपचारको लागि तथा विविध अन्य कारणले आर्थिक सहायता मागको लागि प्राप्त निवेदन अनुसार २१ जनालाई रु ५ हजारको दरले र १ जनालाई रु ४ हजार गरी जम्मा रु १ लाख ९ हजार हालसम्म वितरण गरिसकिएको छ ।
१७) संघ तथा प्रदेशबाट प्राप्त भएका र गाउँपालिकाको आफ्नै श्रोतबाट विनियोजन गरिएका ठूला प्रकृतिका आयोजनाको समयमा ठेक्का व्यवस्थापन नगर्दा विगतमा बर्षेनि काम पूरा नभइ बजेट फ्रिज हुने समस्याको निराकरण गर्न यस आ।व।मा वडा नं. २ को सडक स्तरोन्नति, लामिटार चकरी मकरी सडक स्तरोन्नति तथा ज्यामिरे केराबारी सडक स्तरोन्नतीको लागि ठेक्का आव्हान भइसकेको र थप ठूला आयोजनाका ठेक्का तयारी भइरहेको छ ।
१८) भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्यविधि, २०७८ बमोजिम स्थानीय तहस्तरीय सहजीकरण समितिको गठन भई मिति २०७९ भाद्र ६ गते बैठक बसी गाउँपालिकामा दर्ता भएका ७२७ जना भूमिहिन दलित तथा भूमिहिन सकुम्बासी सम्बद्ध कार्य अगाडि बढाउने, वडा स्तरीय सहजिकरण समिति गठन गर्ने तथा भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संकलित लगत प्रमाणीकरण तथा जग्गा नापजाँज सम्बन्धी कार्ययोजना, २०७९ तयार गर्ने निर्णय भए बमोजिम अधिकांश वडास्तरीय सहजीकरण समिति गठन भएको छ ।
१९) गाउँपालिका अध्यक्षले कानूनत प्राप्त गर्ने सुविधाहरु एकमुष्ट जम्मा गरी विपन्न नागरिकको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने सोँच रहेको छ ।
२०) आर्थिक बर्ष २०७९/०८० को लागि पारित बजेट मध्ये प्राथमिकतामा राखी विनियोजन गरिएका केही प्रमुख अंश निम्नानुसार रहेका छन्
क) गाउँपालिकाभित्रका विपन्न समुदाय तथा सर्वसाधारणलाई निशुल्क र आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउनु स्थानीय सरकारको प्रमुख दायित्व भएकाले स्वास्थ्य क्षेत्रमा रु. ३ करोड ४२ लाख बजेट बिनियोज गरेको छ ।
ख) शिक्षक दरबन्दी नभएका वा कम भएका विद्यालयमा शिक्षक व्यवस्थापन लगायत क्रियाकलाप सञ्चालन गर्न शिक्षा क्षेत्रमा रु। ४ करोड १८ लाख ४७ हजार बजेट विनियोजन गरेको छ ।
ग) वडा नं. ३ मा कोल्ड स्टोरको लागि यस बर्ष रु १ करोड सहित रु १ करोड ६६ लाख ५० हजार बजेटविनियोजन गरिएको छ ।
घ) पशु सेवा सम्बद्ध कार्यक्रमको लागि रु. १ करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।
ङ) विपन्न बालबालिका गरिबसंग विश्वेश्वर सहायता कोष र विपन्न परिवारको गरिबसंग विश्वेश्वर स्वास्थ्य बीमा कार्यक्रमका लागि रु ९४ लाख ५० हजार विनियोजन गरिएको छ ।
च) गाउँपालिकाको गौरवको आयोजनाको रुपमा निर्माणाधिन ५ वटा पक्की पुलको निरन्तरताको लागि रु १५ करोड विनियोजन गरिएको छ ।
छ) वस्तीस्तरबाट माग भई आएका साना योजनाहरुलाई सम्बोधन गर्दै वडास्तरीय पूर्वाधार निर्माण गर्न जम्मा रु. ८ करोड ४५ लाख ८३ हजार विनियोजन गरिएको छ ।
ज) गाउँपालिकाभित्रका नागरिकको माग बमोजिम तत्कालीन साना विकास योजना तथा कार्यक्रमहरु सञ्चालन गर्न कार्यविधि तयार गरी खर्च गर्ने गरी जनतासंग अध्यक्ष विकास कार्यक्रम र जनतासंग उपाध्यक्ष विकास कार्यक्रमको लागि रु २ करोड विनियोजन गरिएको छ ।