नेपालको प्रधानमन्त्री केपी वली जी संयुक्त राष्ट्रसंघको महासभामा न्यूयोर्कमा हुनुहुन्छ । यस पटकको राष्ट्रसंघ महासभामा नेपालको उपस्थितिले नेपाल धेरै माथी उठ्यो भन्दै हुनुहुन्छ । नेपाल फर्के पछि पत्रकार सम्मेलनमा पनि भनिने कुरा यही होला । ठिक एक वर्ष अगाडी प्रचण्डजी ले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थिति जनाउनु भयो । उहाँले पनि आज वली जीले जे भन्नु भयो, त्यही भन्नु भएको थियो ।
प्रायः सबै भूतपूर्व प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा विगतमा उपस्थिति जनाए । दुई पक्षीय, त्रिपक्षीय,सर्वपक्षीय वार्ता गरे । फोटो खिचाए । हात मिलाए । नेपाल फर्किएर नेपालको उपस्थिति उच्च रह्यो भनेर नेपालको शान, मान, विश्वमान चित्रमा बढुवा भयो भने । यदि यो यथार्थ हो भने राम्रो भयो तर के के पक्षमा नेपालको शान, मान, उपस्थिति उच्च रह्यो ?भन्ने इन्डिकेटर चाहिँ कसैले प्रष्ट दिन चाहेनन् ।
मेरो विचारमा नेपाल प्रति राष्ट्र संघ वा विदेशीले हेर्ने इन्डिकेटर मापन माथी पुग्यो वा तल झर्यो ? भन्ने विषय नेपालमा भईरहेको तल उल्लेखित विषयसँग सम्बन्धित हुने देख्छु ।
१) प्रजातन्त्र सुदृढीकरण र संस्थागत पक्ष
२) भ्रष्टाचार निवारण
३) मानव अधिकारको अवस्था
४) स्वतन्त्र न्यायलय
५) रोजगारी वृद्धि
६) जनतामा स्वास्थमा सहज पहुँच
७) शिक्षाको अवस्था
८) युवा रोजगारी र पलायन
१०) बौद्धिक पलायन
११) सुचना सञ्चारको हक
११) बोल्ने वा प्रेस स्वतन्त्रता
१२) अन्तरिक उत्पादन
१३) विदेशीले लगानी गरेको ऋण समयमा तिर्न सकेको छ वा छैन भन्ने अवस्था
१४) विदेशीले दिएको अनुदान सम्बन्धित शीर्षकमा पारदर्शी रूपमा खर्च भएको छ वा छैन भन्ने अवस्था
१५) स्वदेशी वा विदेशी ऋण वा लगानी बाट सम्पन्न हुने विकाश आयोजना समयमै सम्पन्न भएको छ वा छैन ?
१६) पर्यावरण,वातावरण, प्रदुषण नियन्त्रण, कार्वन घटाउन नेपालले गरेको प्रयास
प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघमा यी माथी उल्लेखित विषयमा डिफेन्ड गरे होला न हिजोको प्रधानमन्त्रीले पनि यसै गरे होलान तर प्रश्न उठ्छ कि के नेपालको ग्राउण्ड रियालिटी संयुक्त राष्ट्र संघमा हामीले दाबी गरे जस्तै छ त ? हामीले अन्तरराष्ट्रमा नेपालको शान,मान, इज्जत माथी उठाएकै हौ त ?
भन्ने एउटा कुरा भयो तर ग्राउण्ड रियालिटी अर्को पक्ष भयो । केपी वलीजीले नेपाल फर्के पछि जेनेरिक उत्तर दिने भन्दा विगतका प्रधानमन्त्रीको उपस्थिति भन्दा मेरो उपस्थितीले यो यो शीर्षकमा प्रभाव पार्यो र संयुक्त राष्ट्र संघले यो यो शीर्षकमा नेपाल लाई दिने अनुदान सहयोग बढायो भन्ने विवरण स्पेसिफिक भई दिन सक्नु पर्दछ ।
अर्को तर्फ नेपालका नेताहरु अङ्ग्रेजी बोल्दा विश्व बजारमा ठूलो भईन्छ भन्ने रोगबाट ग्रसित देखिन्छ । भाषा ठूलो कुरा होइन तर भाषाले दिने सन्देश चाँहि महत्वपूर्ण हुन्छ । रसिया,जर्मन, डच, चेक, युक्रेन लगायत यूरोपका धेरै प्रधानमन्त्री पूर्ण अङ्ग्रेजी बोल्न जान्दैनन् र विदेशी फोरममा अनुवादक राखेर स्वदेशी भाषा बोल्छन् तर चलेकै छन् । नेपालको प्रधानमन्त्रीले विदेशमा अनुवादक राखेर नेपालीमै बोलेको भए अझै राम्रो सन्देश जान्थ्यो । केपी वलीजीले यति ठूलो फोरम वा युनिभर्ससिटीमा अंग्रेजी बोल्न प्रयास नगरेकै भए राम्रो हुने थियो । सानो तिनो बोक्रे अङ्गेजी बोल्दा हामी ठूलो भईन्छ वा हामीलाई महान भनिन्छ भन्ने ग्रसित रोग हामीमा देखिन्छ ।
जे होस, संयुक्त राष्ट्र संघमा नेपालले सहभागी जनायो । नेपाल भित्र चुच्चे नक्सा छापेको ४ वर्ष भयो । चुच्चे नक्साको जमिन फिर्ता ल्याउन भारतका प्रधानमन्त्री सँग चु सम्म गरेको भए राम्रै हुन्थ्यो । चुच्चे नक्साको दीर्घकालीन सामाधान गर्ने वैज्ञानिक कुरा राख्ने अवसर गुमाएको देख्दा मेरो मन दुखेर आउँछ । संयुक्त राष्ट्र संघमा नेपालको उपस्थितिले पारेको प्रभाव त नेपाली जनताले भविष्यमा प्राप्त गर्लान नै तर अरुको भ्रमणमा केही भएन तर मैले भ्रमण गर्दा नेपाल माथी पुग्यो भन्ने रोगबाट हामीले आफूलाई मुक्त गराउनु पर्दछ । अर्काे तर्फ नेपालका हरेक प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघमा यी कुरा भनिरहँदा नेपालको ग्राउण्ड रियालिटीबारे तल चर्चा गर्न चाहान्छु र
इमानदार मान्छेलाई त अहिले पनि पीडा छँदै छ,समस्या,छँदैछ जिसले,इमान,जमान नैतिकतासँग कम्प्रोमाइज गरे,तिनीहरू अगाडि गए । जो झुकेनन,बिकेनन,ती पछाडि नै रहिरहे । नैतिकता,मूल्य मान्यता भन्ने कुरा भाषणले होइन, आफ्नो कर्मले देखिनु पर्छ, देखाउनु पर्दछ र नेपाली कांग्रेसमा मात्रै नभएर समकालीन सबै राजनीतिक पार्टीहरूमा यस्तै खडेरी छ ।
युगोस्लाभिया टुक्रिएर सातवटा देश बनेपछि ठूलो गृहयुद्ध भयो । संयुक्त राष्ट्रसंघले त्यहाँ तैनाथ सेनाको फोर्स कमान्डरमा नेपाली सेनाका जर्नेल कृष्ण नारायणसिंह थापालाई नियुक्त गर्याे र राजनीतिक र आर्थिक विषमता बढ्नु नै युगोस्लाभिया टुक्रिने प्रमुख कारण थियो । बोस्निया–हर्जगोभिना,क्रोसिया, कोसोभो,सर्बिया,म्यासेडोनिया,मोन्टेनिग्रो जस्ता भूखण्डमा विभक्त हुन २६ महिना पनि लागेन । शक्तिशाली नेता जोसेफ ब्रज टिटोले एकतावद्ध राखेका राष्ट्र उनको देहान्तपछि टुक्रा–टुक्रा भयो । बलियो राष्ट्रनायक भएन भने देश कुनै पनि बेला टुक्रिन सक्छ वा फेलर भन्ने यस्ता उदाहरण अरू पनि छन् ।
पोर्चुगलले गिनीमा सैनिक हस्तक्षेप गर्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्द्धारा गठित छानविन समितिमा नेपाललाई अध्यक्ष बनाइयो । यस्तै सन् १९७१ मा चीनलाई राष्ट्र संघमा पुनस्र्थापना गराउन नेपाल सह-प्रस्तावक भएर उभियो । राष्ट्रसंघका महासचिव ड्याग ह्यामरसोल्ड विमान दुर्घटनामा परेर मरेपछि नेपालका प्रतिनिधि ऋषिकेश शाहको संयोजकत्वमा छानविन समिति बनाइयो र अमेरिका, रसिया,चीन र भारत लगायतका शक्तिहरू भन्दा पृथक धारमा उभिएर नेपालले कतिपय अन्तर्राष्ट्रिय विषयमा तटस्थ भूमिका खेल्यो ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा दुईपल्ट अध्यक्षता गर्दा धेरै राष्ट्रले नेपालको क्षमताको प्रशंसा गरेका थिए । यी सबै हिजो नेपालको स्तर कहाँ थियौँ भन्ने स्मरण दिने कुरा हुन तर आज अन्तराष्ट्रिय शक्ति काठमाडौंमा परेड खेलिरहेछन । लुकेको कुरा हैन । झुटो होइन सत्य कुरा हो यो । म आरके त्रिपाठीले यो लेखी रहँदा कसैले मन दुखाउनु पर्दैन ।
विराज वखेतीलाई राज्यको महत्वपूर्ण पदको जिम्मेवारी दिन चाहेका पृथ्वीनारायण शाहले जनभावना बुझेर कालु पाँडेलाई सो पद काजीमा नियुक्त गरेको इतिहासमा उल्लेख छ । राष्ट्र सदैव सर्वोच्च हुन्छ । प्रजातान्त्रिक अभ्यासको प्रत्येक चरणमा नेपाली मतदाताले प्रजातन्त्रमा आफ्नो आस्था पुष्टि गर्दै निर्णयमा परिपक्वता सावित गरेका छन् । तर जनताको चेतना, इच्छाशक्ति र सही निर्णय क्षमता सुहाउँदो नेतृत्व देशले पाउन सकेको छैन । नेपालमा प्रजातन्त्र कहिले पनि असफल भएन, नेतृत्व सधँ असफल भयो । क्रान्ति,प्रतिक्रान्ति र आन्दोलनबाट देखापरेका अगुवाहरू नेता सावित हुन सकेनन् ।
करिव ५० वर्ष अघिसम्म कोरिया र नेपालको प्रतिव्यक्ति आय करिब–करिब बराबरी थियो । तर अहिले हेरौँ–उसले नेपाली मजदूरको लागि नेपाली दूतावासमा पत्राचार गर्छ, हाम्रो भने कोरियामा लेबर काम गर्न जान पासपोर्ट बनाउने युवाहरुको लाईनलाई कन्ट्रोल गर्न नसकेर काठमाडौंमा भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्छ । यो हो हाम्रो वास्तविक भोगाई । जबसम्म हामी यी तमाम कुराबाट माथि उठ्न सक्दैनौँ,तबसम्म यसप्रकारको विलासिताले हामीलाई गिज्याउँछ ।
तसर्थ,सिंगापुरको समृद्धिको कथाले के सन्देश दिन्छ भने,यदि असल नेतृत्व र सही गन्तव्य भयो भने मुलुक गरिबीको शिकार बन्नु पर्दैन ।
यस सन्दर्भमा नेपालले पनि सिंगापुरबाट पाठ सिक्न पर्ने देखिन्छ । श्रीलंका,बंगलादेश,जिम्बाबे, लिबिया, इजिप्ट, सोमालिया, सिरिया, वेस्टर्न यूरोप,अन्य अरब स्प्रिङ्ग र हाल काटमारबाट ग्रसित देशका विगतमा लामो समय शासन गरेका असफल नेता र नेतृत्व र सिंगापूरको नेता नेतृत्व र शासकमा के फरक थियो?आफै मनन गरि पाठ सिक्नु पर्ने देखिन्छ । विरोधको लागी विरोध गरेको हैन, एक पछि अर्को सरकारले नेपाली जनतामा आशा, भरोसाको किरण दिन नसकेकोले चिन्तित भएर बेलायतबाट नेपाली आमाको छोरो भएकोले यी सब लेख्दैछु । समयमै सबैमा चेतना भया । हाल बेलायत (लण्डन)