गोपाल दाहाल,बेल्जियम / निनु दाइलाई औपचारिक स्वागत गरी अनेसासको ब्यानर बोकेर घर आएपछि प्राप्त प्रेरणाले पोखिएका शब्दहरू हुन् यी । अनेसासको कार्यक्रम भनेपछि संसारभरि बाट चियाइएका हुन्छन् । आज आदरणीय निनुदाइको आतिथ्यमा एक साहित्यिक अन्तरक्रिया सम्पन्न भयो । यो कार्यक्रम यति भव्य रूपले सम्पन्न गर्न सकेकोमा हर्ष विभोर थिएँ । नेपालको समालोचना साहित्य तथा दर्शनको क्षेत्रमा विशेष योगदान दिएका निनु चापागाईको प्रमुख आतिथ्यमा हुने कार्यक्रम कस्तो पो होला भन्ने कौतुहलता र आशंका थियो । आकस्मिक रूपमा कार्यक्रम गर्नु र अर्को स्थानमा सार्नुपर्दा सबै साथीहरूलाई जुटाउनु र साहित्यिक लयमा कार्यक्रम सम्पन्न गर्नु पक्कै चुनौतीपूर्ण काम हो । यसर्थ सबैतिर साथीहरूलाई फोन घुमाएँ, निनुदाइ र संगीत श्रोता जस्ता लब्ध प्रतिष्ठित मार्क्सवादी सौन्दर्यशास्त्रका प्राज्ञ व्यक्तित्वलाई म जस्तो साहित्यिक भुसुनाले बेल्जियमको आन्ट्वेर्पन शहरमा अन्तरक्रिया गराउँदै सम्मान गर्नु गौरवको कुरा पनि थियो, कार्यक्रम कस्तो पो हुने होला भन्ने मनमा डर पनि थियो, मनको डरले होला खुट्टा कामेको थियो र अन्य धेरै कुरामा मनमा सङ्कोच थियो ।
शुरूमा आयो कार्यक्रम कसरी गर्ने भन्ने प्रस्ताव ! निनुदाइ बेल्जियम आएको थाहा पाएर हाम्रा संस्थापक बिमल गिरी दाजुले कार्यक्रम गर्ने उद्देश्यले हाम्रा अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष सौरभ कारन्जितलाई फोन गर्नुभएछ । जागीरे जीवनको व्यस्तताले होला अध्यक्षको फोन उठेनछ र मलाई सम्पर्क गर्नुभयो । सदा झैं मेरो कुरा राखें, ‘दाइ नमस्ते, केही छ नयाँ ’ दाजुको मीठो उत्तर आयो, ‘नमस्ते १ वरिष्ठ समालोचक नेपालबाट आएको सन्दर्भमा एउटा कार्यक्रम गर्न पाए हुन्थ्यो , कसो होला गोपालजी ’उत्निखेरै मेरो मगजमा सुधा त्रिपाठी आयो, ‘निनु त नेपाली साहित्य अनि समालोचना क्षेत्रको प्रतिष्ठित नाम हो ।’दाइले यत्ति मात्र भन्नुभयो, ‘अलिअलि थाहा रहेछ, कुरा मिलाउनुस् न ।’मेरो उत्तर थियो, ‘कमिटीका साथीहरूसँग कुरा गर्नुपर्छ दाइ, म चाँडै कुरा गरेर जानकारी गराउँछु ।’
सौरभजी, लोकनाथजी, डिल्लीराम दाजु, पंचम अधिकारी, ब्रह्म वाग्ले लगायत साथीभाइसँग फोन सम्पर्क भयो । अनि कार्यक्रम २२ सेप्टेम्बर गर्ने निधो गरियो । बिमल पुन दाइलाई सम्पर्क गरेँ, ब्रसेल्समा कार्यक्रम गर्ने कुरा फिक्स भयो । कार्यक्रम गर्नको लागि हल, चियाखाजा र खानाको व्यवस्था हाम्रा ब्रसेल्सका मित्र जीत लामाबाट सौजन्य प्राप्त हुनेभयो । उहाँले नेतृत्वदायी राजनैतिक भूमिका खेलेको हुनाले नेपाली राजनीतिक पार्टीका भातृ संगठनहरूबाट कार्यक्रम हुनुपर्ने थियो भन्ने कुरा आउन सक्ला, कुरो अलि फरक तरीकाले आयो ! निनुदाइले नै ‘आफ्नो अहिलेको मुख्य भूमिका साहित्यिक भएकोले अनेसासले नै कार्यक्रम गर्दा सान्दर्भिक हुने’ बताउनु भएको रहेछ । अनेसास बेल्जियम च्याप्टरलाई पनि उहाँसँग कार्यक्रम गर्न पाउनु गौरवको कुरा थियो । संयोगवश साहित्यिक क्षेत्रका एक कुशल अनुवादक, सौन्दर्यविद् र समालोचक, अग्रज साहित्यकारलाई म आफैले सञ्चालन गर्ने कार्यक्रमको अतिथि बनाउन पाउनु म आफैलाई अहोभाग्य मानेको छु ।
जीवनमा यस्ता अवसर मिल्नु, जुर्नु पनि सम्भव हुनेरहेछ भन्ने कुरामा म अलिक विश्वास गर्छु । काम त गर्नैपर्छ, गरिरहनु पर्छ जस्तो लाग्छ, काम नगरी कुनै राम्रो परिणाम आउँदैन, आए पनि राम्रो आउँदैन भन्ने मेरो मान्यता हो । काम नगरेको भए शायद २६ वर्षसम्म पारिजातको संगत गरेका, राल्फा आन्दोलनका एक विद्रोही साहित्यकारसँग साक्षात्कार गर्ने अवसर मिल्ने थिएन । त्यस्तै गीतकार, कवि तथा पत्रकार संगीत श्रोता जस्ता युग श्रष्टासँग भेट हुने अवसरको लागि अनेसास बेल्जियम च्याप्टर सधैं आभारी रहने छ । हामी कार्यक्रमको तयारी गर्दै थियौं, त्यहीँ आइतवारका दिन मेरो जागीर थियो तर केही घण्टाको छुट्टी मिलाएको थिएँ । आन्त्वेर्पेन शहरबाट म, अध्यक्ष र केन्द्रका उपाध्यक्ष डिल्ली दाजु ड्राइभिङ गरेर ब्रसेल्स जाने, कार्यक्रम १२स्३० बजेबाट शुरू गर्ने सूचना प्रसारण गरियो । ब्यानर डिजाइनिङ डिल्लीराम दाजुले गर्नुभो, ब्यानर प्रिन्ट गर्न तेजजीको खोजी गर्यौं । यसरी निनुदाइ र संगीतको स्वागत गर्ने व्यवस्थित योजना यसरी बन्यो ।
१६ सेप्टेम्बर, २०२४ का दिन पूर्वेली समाज बेल्जियमको वनभोज BBQ थियो, म स्वयं उक्त समाजको निवर्तमान अध्यक्ष हुँदैगर्दा पूर्वेलीहरूको कार्यक्रम सफल बनाउन समेत लागिपरेको थिएँ । त्यस दिन हाम्रा आगन्तुक साथीहरू मध्येका एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष आइसीसी युरोपका उपसंयोजक पनि भइसक्नु भएका हाम्रा मित्र चित्र सुबेदीले आन्ट्वेर्पनमा कार्यक्रम गर्न सुझाउनु भएको थियो । उहाँबाट ‘उपस्थिति अलि बाक्लो भए सफल हुन सकिने र वक्तालाई पनि ठूलो समूहमा बोल्न मज्जा हुने’ सुझाव पाएँ । कार्यक्रमबारे मनमा गम लिएर बसेको थिएँ, भोलिपल्ट बिहानै हाम्रा अध्यक्ष सौरभले त्यस दिन ब्रसेल्समा निजी गाडी कुदाउन नपाइने ब्यहोराको समाचार स्क्रीनशट गरेर पठाउनु भो ! ‘अब के गर्ने रु कसरी गर्ने रु’ भन्ने प्रश्नहरू आए । एउटा स्थानमा फिक्स भएको कार्यक्रम सार्नुपर्दा सूचनादेखि थप धेरै कुराहरू पुनः शुरूदेखि मिलाउनुपर्ने हुन्छ । म अनेसासको महासचिवको हैसियतमा सबैभन्दा भारिभर्कम कुरा पनि आफैले सुन्नुपर्छ, सूचनालाई नयाँ लयमा फर्काएर सबैलाई कन्भिन्स गर्नु दुःखकै कुरा हो । त्यै पनि महान् साहित्यकारसँगको संगत गर्ने लोभले दुःखलाई आनन्दमा बदल्ने साहस आयो । ब्रसेल्सका साथीहरूसँग पुनः छलफल भयो, अनि त्यहाँबाट आन्ट्वेर्पन सार्ने निधो गरियो ।
सूचना पुनर्ताजगी गरियो, ब्यानर पुनस्बनाइयो, साथीभाइसँग सम्पर्क गरियो अब करीबकरीब कार्यक्रमको योजना अन्तिम चरणमा पुग्यो । उच्च बौद्धिक व्यक्तित्वका अगाडि कार्यक्रम सञ्चालन गर्दा केही कमीकमजोरी पो हुने हो कि भन्ने त्रास थियो । कार्यक्रम सञ्चालक म आफै भएकोले निनुदाइको बारेमा इन्टरनेटबाट पाए जति अध्ययन गरें । कार्यक्रम सञ्चालनको लागि मञ्चमा हिचकिचाहट र डरबाट मुक्त हुन अलि धेरै विषयको ज्ञान हुनु आवश्यक हुँदोरहेछ । निनुदाइसँगै पर्वतका पत्रकार तथा कवि संगीत श्रोता पनि आउनुभयो । उहाँको बारेमा केही जानकारी थिएन, खोज्ने समय पनि मिलेन ।
२२ गते कार्यक्रमको लागि कामबाट छुट्टी लिन मन थियो तर छुट्टी लिनु परेन । मेरो सहकर्मीले कामको दिन साट्न तयार भयो । मन अलि हलुको भएको थियो ताकि प्रशस्त समय पाउने भएँ । २० सेप्टेम्बर शुक्रवारका दिन नेपाली दूतावासले ब्रसेल्समा संविधान दिवसको कार्यक्रम राखेको थियो । किनकिन जान मन लागेन र गइनँ । कार्यक्रम सकेर आउने क्रममा बेलुकी 9.30 बजेको हुँदो हो अध्यक्ष ज्यूले फोन गर्नुभो, कार्यक्रम तयारीका बारेमा सामान्य कुराकानी भयो । अर्को दिन बिहान हाम्रा अध्यक्ष सौरभ बिरामी भएको जानकारी आयो । शनिवारको काम बाडँफाडँले टेन्सन गरायो । ब्यानर तयार भएको थिएन, मायाको चिनो किनिएको थिएन, तेज सरसँग सम्पर्क टुटेको थियो । हाम्रो समाजका अग्रज बिष्णु भुजेल सरबाट पनि आवश्यक सल्लाह सुझाव लिएँ, सजिलो गरी योजना बगिरहेको थिएन ।
हाम्रा अग्रज मित्र तथा जन प्रगतिशील मञ्चका अध्यक्ष प्रकाश पौडेललाई कार्यक्रममा आउँदा उहाँकै पसलबाट मायाको चिनो ल्याइदिन आग्रह गरें । शनिवार बेलुकीसम्म ब्यानर उपलब्ध नभएपछि म र डिल्लीराम दाजुले हातैले लेख्ने योजना बनायौं । राति सुतेपछि फोनमा तेजजीको म्यासेज आएर बसेको रहेछ । ‘ब्यानर तयार छ, भट्टजीको पसलमा राखिदिएको छु,’ भन्ने सूचना पाएपछि म खुशीले फुरौला भएँ । कार्यक्रम हुने दिन एकाबिहानै उठें, नित्यकर्म सकेर कार्यक्रम स्थलतिर लागें । घरबाट साइकलमा हिंडेको म सबै साथीहरूलाई फोन सम्पर्क गर्दै गएँ । सबैलाई चाँडै कार्यक्रम स्थलमा आउन अनुरोध गरें । समय अगाडि नै कार्यक्रम स्थल पुगें, ब्यानर टाँस्ने, कुर्सी टेबुल मिलाउने काम गरें । छिटो आउने साथीहरूले पनि सहयोग गर्नु भो । सधैं कफी पिउने म आज दूधचियामा सरेको थिएँ । समय अगावै हाम्रो साहित्यिक मञ्चका अतिथि देवता निनुदाइ र संगीतश्रोता आइसक्नु भयो ।
मीठो चियासँगै उहाँहरूसँग परिचय भयो । जन्मस्थान अर्थात् पहाड कता भन्ने प्रसङ्गबाट नाताले मेरा काका पर्ने साहित्यकार स्व। यज्ञनिधि दाहालसम्म पुग्दा उहाँले पनि अघिल्लो वर्ष यज्ञनिधि दाहाल साहित्य पुरस्कार काकी सुधा दाहालबाट प्राप्त भएको बताउनु भयो, कार्यक्रम हलमा साथीहरू क्रमशः आउँदै गए । बेल्जियममा सधैंभरी एउटा गुनासो रहन्छ कि कार्यक्रम समयमा शुरू र अन्त्य हुन्न १ आज म भित्रैबाट समयमै शुरू गर्न आतुर भएँ । कार्यक्रम शुरू गर्दा अध्यक्ष बिरामी भएकाले हाम्रा उपाध्यक्ष लोकनाथ शर्मालाई कार्यक्रमको अध्यक्षता गर्ने आग्रह गरें, प्रमुख अतिथि निनुदाइलाई बनाएँ, विशेष अतिथि अनेसास केन्द्रका केन्द्रीय उपाध्यक्ष डिल्लीराम दाजु, अनेसास बेल्जियम च्याप्टरका संस्थापक उपाध्यक्ष बिमलदाजु र धेरै उपमाले चिनिनु हुने संगीत श्रोतालाई बनाएँ अनि सबै आगन्तुकहरु अतिथि हुनुभयो । छोटो परिचय, राष्ट्रियगान, स्वागत भाषण, सम्मान, मायाको चिनो हुँदै कवितावाचन गरेर बल्ल हामी निनुदाइसम्म पुग्यौँ ।
यहाँ अनेसासको मूल्य र मान्यता विपरीत जानसक्ने अवस्था पनि थिएन । हामीले प्रमुख अतिथिका रूपमा उहाँका कुरा सुन्यौं । कार्यक्रमका अध्यक्षले औपचारिक कार्यक्रमको समाप्तिको घोषणा गरेपछि अनौपचारिक रूपमा राउन्ड टेबलमा बस्यौं । निनुदाइले समाजवादी सौन्दर्यशास्त्रीका रूपमा कौतुहलताहरूको तिर्खा मेटाउनु भयो । सौन्दर्यबोध र साहित्यमा यसको महत्वको बारेमा व्याख्या, विवेचना र विश्लेषण गर्नुभयो । संगीत श्रोताले आफूले सृजना गरेको गीत ‘चरी लैजा समाचार, हामी भयौं बेघरबार’ सुनाएर सभाहललाई भावुक बनाउनु भयो । औपचारिक, अनौपचारिक सबै तवरले कार्यक्रम सपाप्तिपछि परिवार जस्तो भएर अतिथि द्वय सँगसँगै बसेर खाना खायौं । बिदाइको समय आयो, दाइहरू लुभेन जानुपर्ने भएकोले मित्र अर्जुन अधिकारी गाडी लिएर आउनुभयो । हामी बाहिर निस्केर बिदाइका हातहरू हल्लाएर बिदा भयौं । कुनै कुनै संयोगहरू अनुपम हुन्छन् । हाम्रो लागि यो एक किसिमको अनुपम संयोग थियो । यस्ता साधनाका तपस्वीहरूलाई सम्मान गर्न पाउनु अनेसास बेल्जियम च्याप्टरको इतिहासमा सुनौलो अवसर हो भन्ने ठानेको छु । राल्फा विद्रोहको एउटा झिल्को अनेसास बेल्जियमको आभामा मिसिएर चेतनाको उज्यालो रापमा हामी रापिन पाउनु पक्कै पनि गौरव र सौभाग्यको कुरा हो ।
अन्त्यमा हामीलाई माया गर्ने हाम्रा शुभचिन्तक शुभेच्छुक मित्रहरूले आर्थिक, सामाजिक, नैतिक र भौतिक रूपमा सहयोग र शुभेच्छा दिनुभयो । चित्र सुवेदी, प्रकाश पौडेल, बिष्णु भुजेल, जीत लामा, तेज नेपाली लगायतका सबै मित्रहरूले दिनुभएको अथाह सहयोग मनभरी सँगालेको छु । उ वेलाको राल्फाली ठिटो सात दशक पार गरिसक्दा पनि उस्तै भर्भराउँदो देखें । कहिले राल्फाली त कहिले प्रलेस हुँदै मार्क्सवादी सौन्दर्यशास्त्रीका रूपमा नेपालका कुना कन्दरासम्म आगोको झिल्को पुर्याउने, जनता जगाउने, उर्वर शब्दहरूको पुञ्ज आदरणीय निनुदाइसँग बिदा भयौं त भयौं तर उहाँको प्रेरणादायी सुझावको रापले हामीले पनि कस्तो साहित्य किन र कसको लागि रु रहेछ बुझ्ने मौका पायौं । समयको क्रम निरन्तर चलिरहन्छ तर समय क्रममा यस्ता संयोग बिरलै प्राप्त हुन्छन् । साहित्यिक क्षेत्रमा दुर्लभ विधाका हस्ती निनु दाइको शतक र दिव्य जीवनको कामना गर्दछु । कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद १ अस्तु ।
साभार : साहित्यपोस्ट
लेखक दाहाल अनेसास बेल्जियमका महासचिव हुनुहुन्छ ।