हेटौँडा \ बागमती प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्न छोटो दुरीका आधा दर्जनभन्दा बढी सडक छन् । ती सडकहरू सामान्य अवस्थामा हेटौँडाबाट काठमाडौँ आवतजावत गर्न मुस्किलले तीन घण्टाको समय लाग्छ । तर यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा र बाढी पहिरोका कारण ती अधिकांश सडकहरू यतिबेला अवरुद्ध छन् ।
अवरुद्ध भएकामध्ये त्रिभुवन लोकपथ सडक खण्डअन्तर्गत हेटौँडा–भैँसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ जाने सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । एकतर्फी रूपमा सञ्चालनमा आएको सो सडकको अधिकांश भाग ग्राभेल र ठाउँठाउँमा खाल्डाखुल्डी रहेकाले आउजाउ गर्नेहरूले ठुलो सास्ती भोग्नुपरेको छ ।
यस्तै सास्ती भोग्नेमध्ये एक छन्, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल । वर्षा सुरु भएकै दिन अर्थात् असोज १० गते काठमाडौँ पुगेका सोनललाई पार्टीको कार्यक्रममा गृह जिल्ला बारा फर्किनु थियो । तर काठमाडौँबाट फर्किने सबै बाटो अवरुद्ध रहेकाले उनलाई चार दिनसम्म काठमाडौँमै बस्नु पर्यो ।
हिजो बिहानबाट चित्लाङ–हेटौँडाको बाटोमा एकतर्फी सवारी चल्न थाल्यो भनेर सुनेपछि उनी पनि आफ्नो निजी सवारीबाट गृह जिल्ला फर्किन यतातिर सोझिए । ‘‘हिजो बिहान समाचार सुनेपछि यही बाटो भएर फर्किने भनेर आयौँ”, लोसपा मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका सोनलले भने । एकातिर यो सडक साँघुरो र कच्ची छ भने अर्कोतिर ठाउँठाउँमा पहिरो गएर खाल्डैखाल्डो भएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन काठमाडौँबाट बिहानै हिँडेका उनी बाटोका दुराव्यस्थाका कारण साँझ मात्रै हेटौँडा पुगेका थिए ।
काठमाडौँ जान धेरैले हेटौँडा–भीमफेदी–दक्षिणकालीको सडक प्रयोग गर्दछन् । ठाउँठाउँमा पहिरोले सो सडक अवरुद्ध भएपछि पहिलोपटक उनी चित्लाङ हुँदै हेटौँडा जान लागेका थिए । चित्लाङ–काठमाडौँ सडकमा गाडी बिग्रिने र सवारी चापमा पर्ने धेरै सम्भावना रहेको बताउँदै यस खण्डमा गाडी बिग्रियो भने बनाउने कुनै ठाउँ नहुँदा समस्या रहेको उनले बताए ।
घरमा बुबा बिरामी परेकाले जतिसक्दो छिटो चाँडो घर फर्कने सोचमा थिए, रौतहटको चन्द्रपुर नगरपालिका–८ का दुर्गेश साह । चित्लाङको बाटो खुल्यो भनेर थाहा पाएपछि उहाँ पनि यही बाटो भएर घर फर्किने योजनाका साथ आफ्नो मोटरसाइकलमा निस्किए । बाटो छोटो र राम्रो होला भनेर मोटरसाइकलमा यही बाटोबाट आउनुभएका साहले पनि साह्रै दुःख पाएको सुनाए । ‘‘यस्तो बाटो होला भनेर मैले कल्पना नै गरेको थिएन्”, उनले भने,‘‘बाटोको अवस्थाका कारण आठ घण्टामा पनि घर पुग्न सकिएन ।” ठाउँठाउँमा सडक बिग्रिएको छ, त्यसमाथि पनि साना र दुईपाङ्ग्रे सवारी साधनको ठुलो चाप रहेको उनले बताए ।
सोनल र साह मात्र होइन, अहिले हेटौँडा–काठमाडौँ यात्रा गर्ने सबै यात्रुको पीडा उस्तै छ । बाढी, पहिरोले अवरुद्ध भएका सडकहरू खुलाउन पालिकाका जनप्रतिनिधि, बागमती प्रदेश सरकारका सचिवदेखि मन्त्रीसम्म आफैँ खटिएका छन् । हेटौँडा र काठमाडौँबिच सडक सम्पर्क जोड्न बागमती प्रदेश सरकारले मन्त्रीको नेतृत्वमा सडक मर्मत गर्ने काम थालेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के सहितको टोली सडक सञ्चालनका लागि खटिएको छ ।