बेल्जियम \ नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक प्रवासका फूलहरुको आइतबार बेल्जियममा विमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथिहरुले पुस्तकको विमोचन गर्नु भएको हो ।
पुस्तक विमोचन गर्नुहुदैँ राजदुत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरुका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उहाँको धारणा रहेको थियो । पुस्तक मार्फत विदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युवापुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नु भयो । राजदुत राजभण्डारीले प्रवास बसाईका अनुभव, संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, सस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरुले कसरी विश्व सामु फैलाई रहेकाछन भन्ने विषय लीपिवद्ध गरि पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवाद सहित शुभकामना व्यक्त गर्नु भयो ।
प्रवासका फूलहरु बारे बोल्नु हुँदै लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा लेखिएको बताउनु भयो । करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भुमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसास प्रति आभार व्यक्त गर्नुभयो। पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति, परिवारिक अवस्था,वैदेशिक संघर्ष लगाएतका वास्तविक कथा समावेश गरिएको बताउनु भयो ।
यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बिचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सबैका आआफ्नै भोगाई हुन्छन, ती कुराहरुलाई आफ्नो पुस्तकसामु जानकारी दिलाउन पुस्तकले भूमिका खेल्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेकोमा पत्रकार गौतमप्रति आभार प्रकट गर्नु भयो । आफ्नो जन्मभुमि छोडेर फरक भुगोल संस्कार र संस्कृतिमा आफुलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा अन्तरराष्ट्रीय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माईले पुस्तक माथि टिप्पणी गर्दै यसले युरोप भित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष सम्वाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिनुभयो । पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्चतम हुने उहाँले बताउनु भयो ।
कार्यक्रममा अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तक माथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताउनु भयो । दुई सय अठासी पेज रहेको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वातामा आधारित भएर पुस्तक प्रकाशन भएको बताउनु भयो ।
यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथा तयार पारी विमोचनका लागि अनेसासलाई अवसर दिनुभएकोमा धन्यवाद दिनु भयो । युरोपमा नेपालीहरुका दिव्य आशा, उन्मुक्त मनोभाव, उत्तेजना, सफलताअसफलताका कथा र संकल्पहरु समाबेश गरिएको प्रवासका फूलहरु पुस्तक कलात्मक कृतिका रुपमा रहने बताउनु भयो ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष काशी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जनसम्पर्क समिति बेल्जियमका उपसभापति विराट जोशी लगायतले कृति सफलताको शुभकामना व्यक्त गर्नु भयो । पुस्तकमा लेखक संघ केन्द्रिय सदस्य हयग्रीव आचार्यको भाषा सम्पादन, कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम अर्जुन दहाल र विना देवकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति कृयसन राम अविकास र वितरकमा किताब घर हेटौंडाका छवि अनित्यको रहेको छ ।