ओम शर्मा,बेल्जियम / भोली आईतवार हुने बेल्जियमको स्थानीय निर्वाचनमा बिभिन्न नगरपालिका, जिल्ला र क्षेत्रमा फरक फरक पार्टीबाट नेपाली मुलका उम्मेद्वारहरु चुनाबि मैदान उत्रिएका छन । नगरपालिका, जिल्ला र क्षेत्रीय सदस्यमा उम्मेद्वार रहेका नेपालीहरुले बिशेष गरी नेपाली मुलका मतदातासँग बढी अपेक्षा राखेका छन । एन्तवेरपेन, तिनेन नगरपालिकामा एक एक जना नेपाली मुलका उम्मेद्वार छन भने लुभेन र ब्रुगे नगरपालिकामा फरक पार्टिबाट एक भन्दा बढी नेपाली उम्मेद्वार रहेकाछन । लुभेन नगरपालिका सदस्यमा क्रिस्चियन डेमोक्र्याटिक पार्टी (सिडिएनभे) बाट कृष्ण क्षेत्री, सामाजबादी भोरुइतबाट सुर्य ढकाल र कम्युनिस्ट पार्टी पेभेडेआबाट बीरमान घर्ती मगर उम्मेद्वार हुनुहुन्छ ।
लुभेनबासी नेपालीहरुले उहाहरु मध्य एकजनालाई भोट दिन पाउनेछन, त्यसै गरी ब्रुगेमा सिडिएनभेबाट प्रज्ञा तिमील्सिना, भोरुइतबाट रमेश कंडेल र भूर ब्रुगे स्थानीय पार्टीबाट घनश्याम काफ्ले उमेद्वार हुनुहुन्छ । ब्रुगेमा पनि एकजनालाई मात्र भोट दिन मिल्ने भएकोले नेपाली मतदाताहरुले अप्ठेरो महशुस गरेकाछन । थोरै नेपालीको बसोबास भएको तिनेनमा तिनेन अन्दर्स गठबन्धनका उम्मेद्वार बुद्द बस्नेत, सेन्टनिक्लास नगरपालिकामा लिबरल पार्टिबाट पहिलो पटक उम्मेद्वार बनेका अनमोल केसी, एन्तवेरपेनमा सिडिएनभेका उम्मेद्वार श्याम श्रेष्ठको पार्टी मन परेमा पार्टिको पुरै टिमलाई अन्यथा उनिहरुलाई एक मत मात्र दिन पनि सकिनेछ । सबै उम्मेद्वारको पार्टिको मत समानुपातिक बितरण हुनेछ भने लोकप्रिय मत उनिहरुले मात्र पाउनेछन ।
मतदाताहरुले भन्ने गरेकाछन "समुदाय र उम्मेद्वारले समयमै छलफल गरेर नेपाली समुदायबाट एक जना मात्र उम्मेद्वार भए मत दिन पनि सजिलो हुने र निर्वाचन जित्न पनि सकिने हुन्थ्यो" । तर उम्मेद्वारहरु भने यहाँ ब्यक्ति भन्दा पार्टिलाई मत दिने हुँदा आफ्नो समुदायको लागि सहयोगिहुन सक्ने र आप्रबासन मैत्री पार्टिलाई मत दिनु उचित हुन्छ भन्छन । लुभेनका कृष्ण क्षेत्री र सुर्य ढकाल बर्तमान नगरपालिका सदस्य हुन भने वीरमान घर्ती मगर पहिले पनि चुनाव लडिसकेका उम्मेद्वार हुन । ब्रुगेकी प्रज्ञा तिमील्सिना सबैभन्दा कान्छी एबम नेपाली समुदायको दोश्रो पुस्ताकी उम्मेद्वार हुन, उनी संगै रमेश कंडेल र घनश्याम काफ्ले पनि पहिलो पटक उम्मेद्वार बनेका हुन ।
त्यसै गरी एन्तवेरपेनमा नगरपालिका सदस्य र जिल्ला सदस्य दुई पदमा चुनाव लडेका श्याम श्रेष्ठ दोश्रो पटक चुनाबि मैदानमा छन भने तिनेनका बुद्ध बस्नेत सेन्टनिक्लासका अनमोल चापागाई नयाँ युबा उम्मेद्वार हुन । नेपाली मुलका उम्मेद्वारहरुले आ-आफ्नो पार्टिले घोषणा गरेका एजेन्डासंगै नेपाली समुदायका लागि नेपाली भाषा स्कुल, सामुदायिक भवन निर्माण, नेपाली कला संस्कृतिको संरक्षण एबम सामुदायिक उत्थानका लागि आवाज उठाउने प्रतिबद्धता गर्ने गरेकाछन । आईतवार बेल्जियमका ५८१ नगर र गाउपालिका लगायत जिल्ला र क्षेत्रका प्रतिनिधि चुन्न निर्वाचन हुँदैछ ।