मकवानपुर । दक्षिण एसिया कै पहिलो सुरुङ ‘चुरियामाई सुरुङ मार्ग’ जीर्णोद्धारपछि सर्वसाधारणको पर्खाइमा छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङको जीर्णोद्धार सम्पन्न भइसकेको छ ।
सर्वसाधारणका लागि खुलाउने तयारी भए पनि यसबारे ठोस निर्णय भने हुन सकेको छैन । सुरुङको संरक्षण र सञ्चालनको विषय निर्क्योल नहुँदा जीर्णोद्धार सकिए पनि नागरिकले अवलोकन गर्न पाएका छैनन् । २०७९ वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी १९८ मिटर लम्बाइको सुरुङ मार्ग पुनर्निर्माण थालिएको थियो । काम सम्पन्न हुँदासम्म यसको लम्बाइ करिब २२५ मिटर पुगेको छ । ऐतिहासिक महत्त्वको सुरुङ मार्ग पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित बागमती प्रदेश सरकारले जीर्णोद्धार गराएको हो ।
प्रदेश सरकार अन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माणका लागि कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौँलाई जिम्मेवारी दिएको थियो । सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरूपमा पुनर्निर्माण सम्पन्न भएको छ ।
यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका अनुसार तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा विक्रम सम्वत १९७५/०७६ मा निर्माण भएको सुरुङको जीर्णोद्धारको काम सम्पन्न गरेर सञ्चालनका लागि स्थानीय तहलाई बुझाउने तयारी भइरहेको छ । सुरुङ मार्गका दुवैतर्फको प्रवेशद्वार खुला रहे पनि सुरुङको बिचमा करिब ४० मिटर भासिएको भाग हटाएर मर्मत सम्भारपछि आवतजावत गर्न सकिने बनाइएको छ ।
‘सुरुङको दुवैतर्फको मुख खुलै रहे पनि भित्री भाग भासिएको थियो । करिब ४० मिटर भासिएको स्थानबाट ढुङ्गा र माटो निकालेपछि सुरुङ वारपार गर्न मिल्ने भएको हो,’ निर्देशनालयका प्रमुख पुष्कर प्रसाद पोखरेलले भने ।
उनका अनुसार २.५ मिटर चौडा र ३ मिटर उचाइ तथा ५०० मिटर लम्बाइको सुरुङ मार्गको आधाभन्दा बढी भाग हेटौँडा–पथलैया सडक विस्तारका क्रममा भत्काइएको छ । सुरुङको दक्षिण प्रवेशद्वार सुरक्षित रहे पनि उत्तरतर्फ सडक विस्तारका क्रममा क्षति भएकाले अर्को प्रवेशद्वार निर्माण गरिएको उनले बताए ।
चुरे पहाड शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माण गरेपछि यो सुरुङ मार्ग लामो समयसम्म प्रयोगविहीन बनेको थियो । गत असोजमै निर्माणको सम्पूर्ण काम सकिए पनि केही प्राविधिक काम बाँकी रहेकाले हस्तान्तरणमा थप केही महिना लागेको निर्देशनालयका प्रमुख पोखरेलले बताए ।
पोखरेलका अनुसार सुरुङ मार्ग पर्यटकीय उद्देश्य अनुरूप पुनर्निर्माण गरिएकाले सर्वसाधारणले अवलोकन गर्ने गरी सञ्चालन गर्न स्थानीय तह वा सञ्चालक समिति निर्माण गरी हस्तान्तरण गर्ने तयारी छ । सुरुङ रहेको स्थानीय तह हेटौँडा उपमहानगरपालिकासँग सञ्चालनको अधिकार हस्तान्तरण गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।
सुरुङ मार्ग प्रयोगसम्बन्धी निश्चित कार्यविधि र मापदण्ड बनाएर मात्रै सर्वसाधारणका लागि खुला गरिने पोखरेलले जानकारी दिए । सुरुङ मार्ग र सोको इतिहासका विषयमा अध्ययन तथा अनुसन्धान गर्न चाहनेहरूका लागि सुरुङ तयारी अवस्थामा रहेको उनले बताए । सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ भने सुरुङ मार्गको दुवै प्रवेशद्वारमा सजावटको कामसमेत भएको छ ।