मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरेनीमा अवस्थित जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेसन शुक्रबार भएको छ । संस्थाका अध्यक्ष श्रीराम अर्जुन दहालको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सहकारीले आव २०८०/०८१ मा दुई करोड २६ लाख ४९ हजार ६५६ रुपैयाँको कारोबार गरेको छ । संस्थाले सदस्यलाई एक करोड ९९ लाख ६७ हजार ६७३ रुपैयाँ कर्जा लगानी गरेको छ । १९ लाख ८ हजार ७ सय शेयरपुजीँ रहेको सहकारीमा ४८९ जना सदस्य आवद्ध रहेको संस्थाका व्यवस्थापक दीर्घबहादुर थापाले बताए । संस्थाको जगेडा कोषमा १३ लाख ६० हजार ७१३ रुपैयाँ रहेको छ भने बचत निक्षेप एक करोड ७६ लाख ७० हजार ९७३ रुपैयाँ रहेको व्यवस्थापक थापाले बताए ।
सभाको अवसर पारेर सहकारी स्थापना गर्दा २०६३ मंसिर २९ गते कित्ता नं. ९४२ को क्षेत्रफल ०४३० बराबरको जग्गा प्रदान गर्नुहुने दाता स्व. भक्तकुमार बजगाईको परिवारका छोरा खेमराज बजगाईलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै, विभिन्न कालखण्डमा सहकारीको सह व्यवस्थापक पदमा रहि सेवा प्रदान गर्नुहुने पूर्व कर्मचारीहरु सरिता चौलागाई र ईन्दु अधिकारीलाई कदरपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै सहकारीले विभिन्न विधामा सदस्यलाई पुरस्कृत समेत गरिएको थियो ।
आयआर्जन समूह तर्फ प्रथम हिमचुली आयआर्जन समूह, द्धितीय अन्नपूर्ण आयआर्जन समूह, तृतीय जनज्योति आयआर्जन समूह र सान्त्वना कालीवन आयआर्जन समूहलाई नगद सहित पुरस्कृत गरिएको थियो । त्यस्तै, असल ऋणीतर्फ देवेन्द्र दुलाल र गीता नेपाली, असल बचतकर्तातर्फ तेजबहादुर अधिकारी र मञ्जु घिमिरे,जेष्ट सदस्यतर्फ रामबहादुर थिङ, एकल महिलातर्फ ज्ञानीमाया स्याङ्बो र चेतकुमारी पुडासैनीलाई सम्मान गरिएको थियो ।
सभामा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तानको विशेष आतिथ्यता रहेको थियो ।
सभामा कार्यपालिका सदस्य नन्दमाई विश्वकर्मा वडा सदस्य सुकराम थिङ, संस्थाका पूर्व अध्यक्ष समेत रहेका वडा सदस्य अर्जुन बहादुर रुम्बा, महिला कल्याण साकोसका अध्यक्ष पार्वती फुयाँल, स्वरोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हिरामणी दाहाल, लागिगुँरास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जसुदा लम्साल, लेखा समिति संयोजक चण्डिका पौडेल, संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पूर्व अध्यक्ष थलनाथ घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।