हेटौंडा \ हेटौंडामा दुई दिने साना तथा मझौला उद्यमीका उत्पादित वस्तुहरुको बजार प्रदर्शनी मेला सुरु भएको छ । विहीबारबाट सुरु भएको मेला भोलीसम्म सञ्चालन हुनेछ । एलोइ प्रा.लि र संयुक्त राष्ट्र विकास कार्यक्रमको साझेदारीमा मेला कार्यक्रम आयोजना गरिएको हो । मेला हेटौंडा २ पल्पसा हलमा सञ्चालित छ । मेलामा सामूदायिक वन उपभोक्ता समूहहरु र मकवानपुरमा रहेका साना तथा मझौला उद्योगहरुबाट उत्पादित वस्तुहरुलाई प्रदर्शनीमा राखिएको छ ।
स्थानीय उत्पादन प्रोत्साहन तथा दीगो समृद्धि प्रवर्धनः सामूदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेलाले स्थानीय उत्पादन प्रोत्साहन तथा आर्थिक विकासको प्रवर्धन गर्ने लक्ष्य रहेको आयोजक एलोई प्रा.लिका अप्रेसन अपिसर मलिना मानन्धरले बताईन् । मेलामा हस्तकलाका सामाग्री, स्थानीय उत्पादनहरु, खाद्य स्टल र विभिन्न कृषि वस्तुहरुको स्टल रहेको उनले बताईन् ।
उक्त मेलालाई हेटौंडा उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ र प्राकृतिक स्रोत महिला अधिकारी सञ्जालको सहयोग रहेको छ । २३ वटा स्टल रहेको मेलामा विहीबार दुईसय भन्दाबढीले स्टलको अवलोकन गरेको जनाइएको छ । भोली शुक्रबार विहान १० बजेबाट ५ बजे सम्म मेला कार्यक्रम रहि रहने मानन्धरले बताईन् ।
महिलाहरुद्धारा उत्पादित दालमोठ, धुप, आलुचिप्स, विभिन्न अचार, हस्तकला, काष्ठकला, वन समूहले उत्पादन गरेको बेसार, दारको ठेकी, काठबाट सालकको चित्र, वनकरिया महिलाद्धारा उत्पादित तितेपाती, घ्युकुमारी, साबुन, सहकारीद्धारा उत्पादित घ्यु, पनिर, फापरको पिठो, तेल, ह्याण्डीक्राफ्टहरु लगायत विभिन्न वस्तुहरु प्रदर्शनी मेलामा राखिएको छ ।