हेटौँडा \ आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका–१२ को वडा अध्यक्ष पदको लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । गत २०७९ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका अर्जुन प्रसाद तिवारीले मनोनयन दर्ता गरेका हुन् ।
उनले सुदर्शनप्रसाद लामाको प्रस्ताव र सरणबहादुर घलेको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । तिवारी गत २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ललित घलानसँग ३१ मतको अन्तरले पराजित भएका थिए । सो निर्वाचनमा तिवारीले १ हजार ३४० मत पाएका थिए भने विजयी भएका घलानले १ हजार ३७१ मत पाएका थिए । तिवारी २०७४ को निर्वाचनमा समेत निकटतम प्रतिद्वन्द्वी रहेका थिए । सो निर्वाचनमा पनि घलानले चुनाव जित्दा तिवारी दोस्रो स्थानमा रहेका थिए ।
त्यस्तै, वडा अध्यक्ष पदका लागि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन् । माओवादी केन्द्रका तर्फबाट रवि कुमार प्रधानले मनोनयन दर्ता गरेका हुन् । माधव प्रसाद घिमिरेको प्रस्ताव र चन्द्रबहादुर घलानको समर्थनमा प्रधानले उम्मेदवारी दिएका हुन् । प्रधान पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । माओवादी केन्द्रले हेटौंडा–१२ लाई आफ्नो किल्लाको रूपमा परिभाषित गर्ने गरेको छ । २०७४ र २०७९ को निर्वाचनमा हेटौंडा–१२ को वडा अध्यक्ष पदमा माओवादीका ललित बहादुर घलान निर्वाचित भएका थिए । दुवै निर्वाचनमा घलानले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । गत २०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार घलानले १ हजार ३७१ मतसहित जित निकालेका थिए ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट राजेश नगरकोटीले उम्मेदवारी दर्ता गराएका छन्। प्रस्तावक बखानसिंह घलान र अर्जुनप्रसाद अर्यालको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नगरकोटीले एक हजार ३२५ मत पाएका थिए ।
त्यस्तै, एकीकृत समाजवादी पार्टीका बलराम बलले पनि मनोनयन दर्ता गरेका छन् । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको उपस्थितिमा बलले मनोनयन दर्ता गरेका हुन् । प्रस्तावक देवेन्द्र प्रसाद पराजुली र सुप्र देवी बलको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् ।
त्यस्तै, राप्रपाले पनि मनोनयन दर्ता गरेको छ । राप्रपाका प्रेमबहादुर भ्लोनले मनोनयन दर्ता गरेका हुन् । सङ्घीय संसद्का पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहको उपस्थितिमा भ्लोनले मनोनयन दर्ता गरेका हुन् । उनले तिलकबहादुर जर्गाको प्रस्ताव र हिरामणि चौलागाईंको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । हेटौँडा–१२ मा गत २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका सरणसिंह थिङले १८३ मत पाएका थिए ।