हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोगलाई व्यवस्थित र विश्वासिलो बनाउनुपर्ने बताउनु भएको छ । आइतबार हेटौंडामा आयोजित प्रदेश लोक सेवा आयोगको पाँचौं स्थापना दिवस समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नागरिकको भरोसालाई ध्यानमा राखेर परिक्षा सञ्चालन, विज्ञापन प्रकाशन, सरुवा बढुवाको विषयमा संवेदनशील भएर कार्य गर्नुपर्ने बताउनुभयो ।
स्वच्छता, निष्पक्षता, वस्तुगतगुणलाई शिरोधार्य गरेर जनताको भरोसालाई कायम राख्दै छितो छरितो र विश्वासनीय रुपमा कार्यसम्पादन गर्न आग्रह समेत गर्नुभयो । प्रदेश लोक सेवा आयोगमा विभिन्न जटिलताले समस्या उत्पन्न भएका छन्, त्यसलाई व्यवस्थित गर्न सबैपक्षलाई आग्रह छ, उहाँले भन्नुभयो ।
आफु प्रदेश प्रमुख भएको सय दिन पुरा भएकोमा खुसी व्यक्त गर्नुहुँदै लोक सेवा आयोगलाई स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो । हरेक समस्याको समाधान हुन्छ, प्रदेश प्रमुखले उक्त समस्याको समाधानमा सधैं तत्पर रहने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिं लामाले आयोगलाई विश्वासिलो बनाउन सरकार कटिबद्ध रहेको बताउनुभयो । आयोगलाई छिट्टै सरकारी भवनमा सार्ने व्यवस्था गरिनुका साथै आयोगलाई प्रभावकारी बनाउन सकिन्छ भने सरुवा र बढुवामा सहजता पुग्ने मुख्यमन्त्री लामाले बताउनुभयो । सिस्टम डिप्लोप गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री लामाले आयोगमा भएका चुनौतिलाई समाधान गर्न सबै क्षेत्रको साथ सहयोग रहनुपर्ने बताउनुभयो । समारोहमा बोल्नुहुँदै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सरुवा बढुवामा पावर र भनसुन नलाग्ने बताउँनुभयो । परिक्षालाई विश्वासिलो बनाई ऐनमा सरुवा र बढुवालाई उल्लेख गर्न धेरै राम्रो हुने बताउनुभयो । आयोगले गर्ने कार्यको मोडालिटी परिवर्तन गरि पुरानै पद्धतिलाई विस्तारै प्रयोग कम गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख अप्सरा चापागाई, प्रदेश प्रमुख सचिव डा. हरिप्रसाद लम्साल, कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आयोगका सदस्य शर्मिला नेउपानेले आव २०८०/०८१ को वार्षिक प्रतिवेदनका प्रमुख विषयवस्तुबारे जानकारी दिनुभएको थियो ।