काठमाण्डौ / मेकअप आर्टिस्टकै रुपमा सक्रिय रहेर आफ्नो परिचय फाराकिलो पारिरहेकी ज्योती केसीको सक्रियता पछिल्लो समय फिल्ममा समेत बढेको छ । स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण फेसनको दुनियाँमा नोटिस भएकी ज्योती पछिल्लो समय फिल्ममा पनि सक्रियता बढाईरहेकी छिन । हाल महानायक राजेश हमालको कमब्याक बनिएको फिल्म ‘नरसिंहा अवतार’ मा मेकअप आर्टिस्टको रुपमा जोडिएकी ज्योतीले भारत पुगेर चण्डीगढमा रहेको ‘इन्डियन इन्स्टिच्युट अफ फेसन डिजाइन’ बाट फेसन डिजाइनिङ स्नातक गरेकी छिन् ।
उनले त्यहाँ फेसनसँगै मेकअप र स्किन आर्टको शिक्षासमेत लिइन् । पोस्ट ग्र्याजुएसन सकेपछि केसीले उनीसँगै शिक्षा लिएका साथीहरू भारतकै बलिउडतर्फ लाग्दा उनी स्वदेशमा नै केही गर्छु भन्दै नेपाल फर्किएकी हुन् ।‘फेसनसँगै स्किनआर्टको शिक्षा लिएपछि आफ्नै देशमा त्यसलाई सदुपयोग गरिरहेकी छु । कलाकारलाई फोटोशुटका लागि तयार गर्ने क्रममा समेत धेरै सिक्न पाएकी छु । अहिले महानायक राजेश हमालको कमब्याक फिल्ममा जोडिन पाउँदा यसलाई अवसरसँगै चुनौतीको रुपमा लिएकी छु’, उनले भनिन् ।
महानायक हमाललाई नयाँ अवतारमा तयार गर्ने जिम्मेवारी पाएकी ज्योतीले अभिनेता प्रदीप खड्का, अभिनेत्री बेनिशा हमाल, मलिका महत, परिक्षा लिम्बु, कुशुम शर्मा, सनिशा भट्टराई, कविता नेपाली लगयातसँग गरेको काम र फोटोको चर्चा ग्लामर क्षेत्रमा छ । उनले टेलिभिजन कमर्सियल, पत्रपत्रिकाको लागि फोटोशुट, अनलाइन पोर्टलको लागि गरिएको फोटोशुटमा फोटो पत्रकार कुवेर डङ्गोलसँग सहकार्य गरेकी छिन् ।
‘टिभीसी र फोटोशुटमै काम गरेर सङ्गालेको अनुभवका कारण मैले फिल्मसम्म काम गर्ने अवसर पाएकी छु । सौन्दर्यका काममा आउँदो पुस्ता अनुभवसँगै शिक्षा लिएर आउनुपर्छ भन्ने मेरो बुझाई हो, यसले हामीलाई थप व्यावसायिक बनाउँछ’, ज्योतीले भनिन् ।
चन्द्रागिरी नगरपालिका मातातीर्थमा बस्ने ज्योतीले सन् २०१७ मा ‘मिस्टर एण्ड मिस मोडेल लाइक अ स्टार’ नामक ब्युटी प्याजेन्टमा सहभागी हुँदै फेसन क्षेत्रमा पाइला टेकेकी थिइन् । मेकअप आर्टिस्टसँगै उनले फेसन डिजाइनमा समेत आफूलाई स्थापित गर्ने क्रममा छिन् । उनले अभिनेत्री मलिका महत, परिक्षा लिम्बु, कुशुम शर्मा, सनिशा भट्टराईको फोटो र भिडियोको लागि ड्रेस डिजाइन समेत गरेकी छिन् । नेपालमा सन् २०१९ देखि फेसन र मेकअपमा सक्रिय ज्योतीले काठमाडौँको अनामनगरमा ‘जावेरिया मेकअप स्टुडियो’ सञ्चालन गरिरहेकी छिन् ।