हेटौंडा \ सामूदायिक वनका विषयमा जनप्रतिनिधि, वन समूहका पदाधिकारी, नागरिक समाजबीच समन्वयात्मक संवाद तथा समीक्षा कार्यक्रम सोमबार हेटौंडामा भएको छ । सामूदायिक वन उपभोक्ता महासंघ नेपाल मकवानपुरको आयोजना तथा सामूदायिक वन अधिकारी सुनिश्चितता (टिएफ) परियोजनाको सहकार्यमा कार्यक्रम भएको हो ।
महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष पाख्रीनले सामूदायले नै वन जोगाएको त्यसमा पनि वन जोगाउन महिलाहरुको महत्वपूर्ण भूमिका रहेको बताईन् । उनले वन सरकार र जनप्रतिनिधिहरुबीच सहकार्य नहुँदा मुद्धामामिलामा समेत परिरहेको बताईन् । विकास निर्माणको कार्यमा वन सरकार, वन महासंघ र स्थानीय सरकारको सहकार्य अनिवार्यता रहेको भन्दै उनले वन सँग जोडिएका विषयवस्तुहरुमा काम गर्न गाउँपालिका सधैं तत्पर रहेको बताईन् ।
कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले निजी वन र सामूदायिक वन अझै व्यवस्थित भएर सञ्चालन गर्न आग्रह गरेका छन् । कर्मचारी अभाव छ, त्यहीँ पनि हामीले समूहलाई प्यानमा आवद्ध गराउने, सभा राख्न लगाउने, सञ्चालन गर्न सघाउने गरिरहेका छौं, उनले भने । हामी कहाँ २० वटा जति समूह प्यानमा दर्ता भइसकेका छन् । वन समूहले काम कर्तव्य र अधिकारलाई मध्येनजर गरी काम गर्नुपर्ने बताए । प्रदेश सरकारले दीगो वन व्यवस्थापन कार्य विधि रहेको छ, त्यसलाई कार्यान्वयन गर्न जरुरी रहेको समेत बताए ।
वन हाम्रो अपरिहार्य रहेको भन्दै वनलाई व्यापारिक केन्द्र बनाउन नहुने सहभागीले जनाएका छन् । वनभित्रका समस्याहरुलाई सहकार्य मार्फत समाधान गर्नुपर्ने बताएका थिए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, हेटौंडा उपमहानगरपालिका वन तथा वातावरण समितिका संयोजक समेत रहेको १० नम्बर वडाध्यक्ष फुर्वादार्जे लामा, हेटौंडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, ११ का वडाध्यक्ष जुना दाहाल, मकवानपुरगढी २ का वडाध्यक्ष बखानसिं पाख्रीन, ३ का वडाध्यक्ष भागवत घिमिरे, ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, महासंघ बागमती प्रदेश कोषाध्यक्ष नानीमैयाँ रुम्बा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका वन समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।