हेटौंडा \ आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा मंगलबार हेटौंडामा निर्वाचन तयारी र आचारसंहिता सम्बन्धमा जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक बसेको छ । बैठकलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले राजनीतिक दल, उम्मेदवार, दलका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न आग्रह गरेकी छिन् ।
निर्वाचललाई शान्तिपूर्ण भयरहित सम्पन्न गराउनु हामी सबैको कर्तव्य भएकाले निर्वाचन आचारसंहितालाई अक्षरस पालना गरि सहयोग गर्न अपिल गरेकी थिईन् । बैठकमा प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा उल्लेख भएका बुँदागत आचारसंहिताहरु राजनीतिक दल, उम्मेदवार, दलका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला वा निर्वाचन सम्बन्धि कार्य गर्दा पालना गर्नुपर्ने आचारणको बारेमा प्रष्ट पारेका थिए ।
त्यस्तै, राजनितिक दल, राजनीतिक दल, उम्मेदवार, दलका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले सवारी साधान प्रयोग गर्दाका आचरणबारे समेत जानकारी गराएका थिए । उनले सञ्चारमाध्यम प्रयोग गर्दा पनि विभिन्न आचारणहरु पालना गर्न आग्रह गरेका थिए ।
बैठकमा मकवानपुरका विभिन्न राजनितिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको सहभागिता रहेको थियो ।