हेटौँडा / मङ्गलवार देखी हेटौँडामा दुई लाख राशिको तेस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्नुहुँदै हेटौडा ७ का वडा अध्यक्ष दामोदर गौतमले स्वास्थ्य बन्नका लागी खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । नागस्वती भेट्रान्स क्लबले छोटो समयमा वडा सँगै जिल्ला चिनाउन ठुलो भूमिका खेलेको बताउनु भयो । वडा तहबाट खेल क्षेत्रका लागी आवश्यक बजेट विनियोजन गरेको बताउँदै आगामी दिनमा अझ बजेट बढाउने बताउनु भयो ।
कार्यक्रममा जिल्ला फुटबल सङ्घका अध्यक्ष टिका लामा, पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतम,अमेरिका निवासी युवा व्यवसायी गौरव बस्नेत लगायतले खेलको सफलताको शुभकामना दिएका थिए । प्रतियोगिता आगामी मङ्सिर ८ गते सम्म चल्ने छ । क्लबका अध्यक्ष सोम बहादुर तितुङ्को अध्यक्षतामा सुरु भएको प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरूको सहभागिता रहने उहाँले बताउनु भयो । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेता लाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको छ ।
प्रतियोगितामा देशभरका १५ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगिताको लागि बिस लाख रुपैयाँ खर्च हुने अध्यक्ष तितुङ्ले बताउनु भयो । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताले पूर्व खेलाडीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने उहाँले बताउनु भयो । चार वर्ष अघि स्थापना भएको यस क्लबले लगातार तेस्रो सिरिज प्रतियोगिता आयोजना गरेको हो । यस अघिका दुई प्रतियोगितामा आयोजकले उपाधि हासिल गर्न सफल भएको थियो । आजको उद्घाटन खेलमा आयोजक नागस्वती भेट्रान्स ए ले र एन.जे.जे.भिसी भेट्रान्स सिमरालाई एकका विरुद्ध तिन गोल गर्दै विजयी सुरुवात गरेको छ । खेलको १२,२७ र ३३ औ मिनेटमा नागस्वती भेट्रान्सका तर्फबाट डेबिन श्रेष्ठले तिन गोल गरेका थिए भने एन.जे.जे भेट्रान्सको तर्फबाट खेलको दोस्रो मिनेटमा रत्न बहादुर खत्रीले एक मात्र गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका डेबिन श्रेष्ठ घोषित भएका थिए ।
यस्तै आज भएको दोस्रो खेलमा हेटौडा भेट्रान्स विजयी भएको छ । हेटौडाले पश्चिम चितवन भेट्रान्सलाई सुन्यका विरुद्ध चार गोल गर्दै विजयी भएको हो । खेलको १४,५१ र ५२ औ मिनेटमा हेटौडा भेट्रान्सको तर्फबाट रितेस थापाले तिन गोल र सुबिन घिमिरेले २३ औ मिनेटमा एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच हेटौडा भेट्रान्सका रितेस थापा घोषित भएका थिए । यस्तै आजै भएको तेस्रो खेलमा चितवन भेट्रान्सले निजगढ भेट्रान्सलाई एकको विरुद्ध दुई गोल गर्दै विजयी भएको थियो । चितवनका तर्फबाट खेलको १७ मिनेटमा सुरेन्द्र चौधरी र ३९ औ मिनेटमा विष्णु दराई ले गोल गरेका थिए भने निजगढ भेट्रान्सका तर्फबाट खेलको २४ औ मिनेटमा भीम लामाले एक गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच चित्तवन भेट्रान्सका विष्णु दराई घोषित भएका थिए । प्रतियोगिता अन्तर्गत बुधवार चार खेल हुने छन् । पहिलो खेल बिहान १२ बजे लेकसाईड भेट्रान्स पोखर र वीरगन्ज युनिटि भेट्रान्स बिच हुने छ भने दोस्रो खेल दिउसो एक बजे वीरगन्ज यूथ एकेडेमी र पशुपति भेट्रान्स बिच हुने छ । यस्तै तेस्रो खेल दिउसो २ बजे वीरगन्ज सिटी भेट्रान्स र जोरपाटी भेट्रान्सकाबिच हुनेछ भने अन्तिम खेल अभिषेक चर्च भेट्रान्स र नागस्ती भेट्रान्स बि बिच हुने तालिका रहेको छ । खेल हेटौडा ७ नागस्वतीमा रहेको नवज्योति विद्यालयको खेल मैदानमा हुने छ ।