हेटौँडा / तेस्रो नागस्वती कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वाती भेट्रान्स क्लबले हात पार्न सफल भएको छ ।
हेटौँडा ७ नागस्वतीमा शनिवार सम्पन्न फाइनल खेलमा जोरपाटी भेट्रान्स काठमाडौँलाई ट्राई ब्रेकरमा पराजित गर्दै नागस्वती विजयी हुन सफल भएको हो । निर्धारित समयमा दुवै समूहबाट एक एक गोल भएपछि खेल ट्राई ब्रेकरमा पुगेको थियो । खेलको ३९ औँ मिनेटमा नागस्वतीको तर्फबाट मिलेन्द्र देवानले गोल गरेका थिए भने जोरपाटीको तर्फबाट ४६ औँ मिनेटमा निमा लामाले गोल गरेका थिए । ट्राई ब्रेकरमा जोरपाटीको तर्फबाट राकेश लामा,निमा लामा र रञ्जित लामाले गोल गरेका थिए भने नागास्वतीको तर्फबाट मिलेन्द्र देवान,दिलीप छेत्री,विक्रम श्रेष्ठ र निमा लामाले गोल गर्दै ४-३ गोल अन्तरमा टिमलाई विजयी बनाउन सफल भएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच नागस्वतीका गोलकिपर दिलीप छेत्री घोषित भएका थिए । खेलमा वेस्ट फर्वड जोरपाटीका सुरज सुवेदी वेस्ट गोलकिपर नागस्वतीका दिलीप छेत्री,वेस्ट डिफेन्डर मिलन राई,वेस्ट मिड फिल्ड राजकुमार घिसिङ,वेस्ट स्कोरर मिलेन्द्र देवान,वेस्ट टिम कोच भीम श्रेष्ठ घोषित भएका थिए । विधागत खेलाडीहरूलाई जनही १० हजार नगद प्रदान गरिएको थियो भने खेलको सर्वोत्कृष्ट खेलाडी नागस्वतीका सन्तोष बस्नेत घोषित भएका थिए । बस्नेतलाई नगद ५० हजार प्रदान गरिएको थियो ।
नागस्वती भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको विजयी समूहले २ लाख १ हजार र उपविजेता लाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा देशभरका १५ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहेको थियो । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताले पूर्व खेलाडीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने क्लबका अध्यक्ष सोम बहादुर तितुङ्ले बताउनु भयो । यो सङै नागस्वती क्लबले लगातार तेस्रो सिरिज प्रतियोगिता जित्न सफल भएको छ ।
विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुहुँदै प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको भन्दै आगामी प्रदेश स्तरीय खेलहरूमा भेट्रान्स खेलाडीहरूका लागी पनि प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रतियोगिताले पूर्व खेलाडीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने उद्देश्यले खेल आयोजना गरिएको क्लबका अध्यक्ष सोम बहादुर तितुङ्ले बताउनु भयो । यो सङै नागस्वती भेट्रान्स क्लबले लगातार तेस्रो सिरिज जित्न सफल भएको हो । कार्यक्रममा हेटौडा ७ का वडा अध्यक्ष दामोदर गौतम,वडा नम्बर ८ अध्यक्ष राम थापा,वडा नम्बर ६ अध्यक्ष बिष्णु दाहाल,वडा नम्बर ९ अध्यक्ष शुकराम केसी,जिल्ल फुटबल सङ्घका अध्यक्ष टिका लामा,पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतका विभिन्न खेलकुद संघसंगठन क्लबहरूको सहभागीता रहेको थियो ।