हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्योगका लागि स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन जोड दिनुभएको छ । आइतबार १० औं उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौंडामा आयोजित नवप्रर्वतक उद्यमी सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले हाम्रो वरपर भएका कच्चापदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न सके कच्चापदार्थको आयातको नाममा नेपाली पैसा नबाहिरिने बताउनुभयो ।
विदेशी भन्दा स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन आग्रह गर्दै उहाँले कृषि क्षेत्रमा स्वदेशमै वीउ उत्पादनमा जोड दिन समेत आग्रह गर्नुभयो । नेपाली बजारमा टपरीको प्रशस्त माग रहेकाले गुणस्तरीय सामाग्री उत्पादन गर्न सके यसले विश्व बजारमा राम्रो आम्दानी गराउन सक्ने उहाँको भनाई थियो । तीन तहको सरकारले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्था गरिनुपर्ने भन्दै लगानीकर्तालाई सुरक्षित वातावरण र प्रविधिमैत्री बनाइनु सरकारको दायित्व रहेको उहाँले बताउनुभयो ।
उद्योगी व्यवसायीलाई हेर्न नजर सकरात्मक बनाउनमा जोड दिँदै उहाँले स्वदेशमा रोजगारी बढाउन सके बेरोजगार समस्या हल हुने बताउनुभयो । रोजगार सिर्जना भएपछि युवाशक्ति पलायन हुनबाट रोकिने बताउँदै उहाँले प्रदेश सरकारबाट उद्योग र कृषि क्षेत्रमा तीन अर्ब बजेट लगानी भएको र सरकारको अनुदान सही ठाउँमा प्रयोग गर्न उद्योग व्यवसायीलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले नेपाली कागजलाई सरकारी कामकाजमा अनिवार्य प्रयोगमा ल्याउने तयारी गरेको छ, उद्योग व्यवसायीहरुका समस्यालाई समाधान गर्न ऐन नियम हेरफेरमा ध्यान दिनेछौं, मुख्यमन्त्री लामाले भन्नुभयो ।
कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङले युवाहरुलाई देशमा फर्काउन उद्योग क्षेत्रको विकासले मात्र सम्भावना रहेको बताउनुभयो । उहाँले साना उद्योगहरुलाई विकास विस्तार गर्न, स्वदेशी कच्चापदार्थ प्रयोग गर्न आग्रह गर्दै उद्योग वाणिज्य क्षेत्रमा प्रदेश सरकार लगानी बढाउन सकरात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा काभ्रेका झ्याम्बल कृषि फर्म उद्योग प्रालिलाई सर्बोत्कृष्ट उद्योग घोषणा गर्दै नगद एक लाख सहित सम्मान गरिएको थियो भने उत्कृष्ट उद्यमीहरुमा कोम्हेन्दो एकीकृत कृषि फार्म मकवानपुर, युनिक पशुपन्छी तथा कृषि फर्म, धादिङ्ग, एस. एस. टेलर्स एण्ड स्यानिटरी प्याड तथा माक्स, रसुवा, वरपिपल दुना टपरी उद्योग सिन्धुली, ओम फुड प्रोडक्ट, चन्द्रागिरी काठमाण्डौं, श्रृजनशील कृषि फर्म ललितपुर, सुरी मौरी पालन तथा घार उद्योग दोलखा, नव यूवा कृषि फम नुवाकोट, लक्ष्मी चिउरा उद्योग भक्तपुर, ए.सि.एन नेपाली कागज उद्योग भरतपुर, मन्थली डिलक्स एग्रो फरेस्टी रामेछाप, कफी सहकारी उद्योग, सिन्धुपाल्चोक बि.जे.एस ह्याण्डीक्राफ्ट एण्ड पनौती सेभिनियर हाउस, काभ्रेलाई उत्कृष्ट उद्यमीहरुलाई जनही ४० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य भारती पाठक, प्रमुख सचिव डा. हरिप्रसाद लम्साल लगायतको आतिथ्यता रहेको थियो ।