हेटौंडा \ बागमती प्रदेश सरकार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले १४ जना उद्यमीहरूलाई नवप्रवर्तन उद्यमी सम्मान गरेको छ । दशौ औं उद्योग दिवसको अवसरमा आइतबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई नगद सहित बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सम्मान गर्नुभयो । काभ्रेका झ्याम्बल कृषि फर्म उद्योग प्रालिलाई सर्वोत्कृष्ट उद्योग घोषणा गर्दै नगद एक लाख सहित सम्मान गरिएको थियो भने अन्य १३ उद्यमीहरूलाई उत्कृष्ट उद्यमी सम्मान गरिएको थियो ।
उत्कृष्ट उद्यमीहरूमा कोम्हेन्दो एकीकृत कृषि फार्म मकवानपुर, युनिक पशुपन्छी तथा कृषि फर्म धादिङ, एस.एस.टेलर्स एन्ड स्यानिटरी प्याड तथा माक्स रसुवा,वरपीपल दुना टपरी उद्योग सिन्धुली,ओम फुड प्रडक्ट, चन्द्रागिरि काठमाण्डौं, सृजनशील कृषि फर्म ललितपुर, सुरी मौरी पालन तथा घार उद्योग दोलखा, नव युवा कृषि फम नुवाकोट, लक्ष्मी चिउरा उद्योग भक्तपुर, ए.सी.एन नेपाली कागज उद्योग भरतपुर, मन्थली डिलक्स एग्रो फरेस्टी रामेछाप, कफी सहकारी उद्योग, सिन्धुपाल्चोक, बि.जे.एस ह्याण्डीक्राफ्ट एन्ड पनौती, सेभिनियर हाउस काभ्रेलाई उत्कृष्ट उद्यमी घोषणा गर्दै उनीहरूलाई जनही ४० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य भारती पाठक, प्रमुख सचिव डा. हरिप्रसाद लम्साल लगायतको आतिथ्यता रहेको थियो ।
बागमती प्रदेशका प्रत्येक जिल्लाबाट नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ मापदण्ड बमोजिम उच्चतम अङ्क प्राप्त गर्ने एक एक उत्कृष्ट उद्यमी र समष्टिगत रूपमा बागमती प्रदेशबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्न सफल एक सर्वोकृष्ट उद्यमी गरी १४ जना उद्यमीलाई छनोट गरि सम्मान गरिएको थियो ।