हेटौँडा /आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका सन्दर्भमा मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा बिहीबार हेटौडामा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न गरेको छ । हेटौँडा उपमहानगरपालिका–१२ को वडा अध्यक्ष पदको लागी हुने उपनिर्वाचनको बारेमा तयारी र निर्वाचनका दिन प्रयोग हुने सवारी पास लगायत विषयमा दलका नेता तथा उमेद्धवार हरुसंग छलफल गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित सर्वदलीय सर्वपक्षीय बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्न आग्रह गर्नुभयो ।
उपनिर्वाचनका दिन आयोगले तोकेको निकाय वा अधिकारीले अनुमति दिएको सवारी साधन मात्र प्रयोग गर्न आम नागरिक,उम्मेदवार तथा दलका नेताहरूलाई उहाँले अनुरोध गर्नुभयो । निर्वाचनका दिन क्रियापुत्री,शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक जस्ता मतदाताको लागि आयोगले तोकेको निकाय वा अधिकारीले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा नपर्ने बताउनु भयो । मतदाताहरूलाई निर्वाचनका दिन निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ५ दफा २१ बमोजिम आचरण पालना गराउने कार्यमा सबैले सहयोग गर्ने समेत आग्रह गर्नु भयो ।
मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने, कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने,राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झन्डा अङ्कित कपडा, टी सर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेष, लोगो, ब्याज, मास्क, स्टिकर लगाउन वा झोला बोकेर जान नहुने समेत बताउनु भयो ।
कसैको पक्ष वा विपक्षमा एस।एम।एस।, फेसबुक, मेसेन्जर, ट्विटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रचार वा सम्प्रेषण गर्न नहुने लगायतका निर्वाचन आचारसंहिता विपरीत कार्य नगर्न आग्रह गर्नु भयो । यस्तै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले निर्वाचन अधिकृतले अनुमति नदिएका सामग्री मतदान स्थल तथा मतगणना स्थल नलैजान, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले आआफ्नो क्षेत्र वाट प्रभावकारी भूमिका निर्वाह गिरदिन आग्रह गर्नु भयो । बैठकमा दलका उम्मेदवार तथा प्रनिधिहरुले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आफूहरूको तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
छलफलमा प्रदेश निर्वाचन अधिकारी हरि प्रसाद ढकाल,गोरख बहादुर गण सुपारे टार ब्यारेकका प्रमुख सेनानी निरञ्जन धामी, प्रहरी उपरीक्षक विश्व राज खड्का, सशस्त्र प्रहरी उपरीक्षक ज्ञान प्रसाद भुर्तेल, उपअनुसन्धान निर्देशक प्रज्वल खड्का लगायतका सहभागिता रहेको थियो । बैठकले आगामी १६ गते आइतबारका दिन स्थानीय तहको उपनिर्वाचन गर्ने गरी मिति तोकिए बमोजिम मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं। १२ को वडा अध्यक्षको रिक्त पदमा हुन गइरहेको उपनिर्वाचनको हालसम्मका गतिविधिको समीक्षा गरी मतदान तयारी कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ ।
स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा ७५ बमोजिम उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले उपनिर्वाचनमा मतदान सम्बन्धी काम गर्न प्रत्येक मतदान केन्द्रको लागि आफूले गर्नुपर्ने काम गर्न मतदान प्रतिनिधि नियुक्त गर्ने व्यवस्था भए बमोजिम मतदान प्रतिनिधि नियुक्त गर्दा एउटा मतदान केन्द्रमा एक जना मात्र मतदान प्रतिनिधि रहने गरी नियुक्त गर्ने, यसरी नियुक्ति गर्दा सम्बन्धित वडा अन्तर्गतको सम्बन्धित मतदान केन्द्रमा मतदान गर्न पाउने गरी अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई मात्र मतदान प्रतिनिधि नियुक्त गर्ने निर्णय गरेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ४ दफा १७ बमोजिम मतदान हुने दिनको अठचालिस घण्टादेखि मतदान केन्द्र बन्द नहुन्ज्यालसम्म राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्ने,मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीति दल वा उम्मेदवारका प्रचार प्रसार सामग्री हटाउने,कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्ने र निर्वाचन प्रचार प्रसार नगर्ने,सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न नपाउने निर्णय गरेको हो ।