हेटौंडा \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामा(तामाङ) ले महिलाहरुलाई उद्यमी बनाउन सके रोजगारी सिर्जना हुने बताउनुभएको छ । बुधबार हेटौंडामा आयोजित महिला उद्यमशीलता प्रवद्र्धनका लागि व्यवस्था गरिएका नीतिगत प्रदेश स्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले साना लगानीका उद्योगहरुमा लगानी तथा प्रवद्र्धन गर्न सके देशमै रोजगारी सिर्जना हुने बताउनुभयो ।
उहाँले महिला उद्यमीलाई अगाडी बढाउन सके आर्थिक विकासमा टेवा पुग्ने समेत बताउनुभयो । यसका लागि महिलाहरुलाई शिक्षामा लगानी गर्न कन्जुसाई गर्न नहुने उहाँको जोड थियो । सबै क्षेत्रमा महिलाहरुलाई अधिकार प्रत्याभूति गर्न सके उद्योग व्यवसायसँगै राजनीतिक क्षेत्रमा पनि उनीहरुको पहुँच पुग्ने उहाँले बताउनुभयो ।
उद्यमी बनाएर मात्र उद्यमशीलता नहुने भन्दै उत्पादित वस्तुहरुको पैठारी गर्नमा सरकारी स्तरबाट पहल हुनुपर्ने र यसका लागि प्रदेश सरकार आगामी दिनमा विभिन्न कार्ययोजना बनाएर अघि बढ्नेमा उहाँको उद्घोष थियो । साना उद्यमीलाई प्रदेश सरकारले प्रवद्र्धन गरिनुका साथै अनुदानका लागि आवश्यक सहयोग गर्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले उद्यम क्षेत्रमा उपमहानगरको लगानी रहेको बताउनुभयो । हामीले १४ वटा महिला उद्यम क्षेत्रमा काम गरिरहेका छौं, कृषिसँगै भान्छामा प्रयोगहुने वस्तुहरु गरी १४ किसिमका उद्यम क्षेत्रमा नगरपालिकाले काम गरिरहेको छ, नगरप्रमुख लामाले भन्नुभयो । हेटौंडा क्षेत्रमा ढाकाका पहिरन, ग्रामेन्ट क्षेत्र, तोफु, अदुवा, बेसार, गुन्द्रुक, खुवा र लसुनलाई ब्राण्डेड गर्दै अघि बढिरहेको प्रमुख लामाले बताउनुभयो ।
हामीबीच एक अर्काले उत्पादन गरेको वस्तु प्रयोग गर्न आग्रह गर्नुहुँदै प्रमुख लामाले महिला उद्यमीलाई धेरै चुनौति छ, चुनौतिलाई सामाना गर्न सबै एकवद्ध हुन आवश्यक रहेको बताउनुभयो ।
महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका उद्योग तथा वाणिज्य मन्त्रालयका पूर्व सचिव यामकुमारी खतिवडाले महिला उद्यमशीलता विकासका लागि संघ र प्रदेश सरकारका नीति, कार्यक्रम र कार्यान्वयनका लागि समन्वयका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।