मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले पहिलो पटक पालिका स्तरीय ९ 'ए' साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी २७ गते विहीबारदेखी सुरु हुने प्रतियोगिता बारे जानकारी गराइएको थियो ।
खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको अध्यक्षतामा भएको सम्मेलनमा शनिबारबाटै प्रतियोगिताको लागि दर्ता कार्य सुरु भएको अध्यक्ष स्याङ्तानले बताए । हामीले पहिलो पटक ९ ए साइड प्रतियोगिता गर्न लागेका छौं, करिब ८ देखी १० वटा समूहहरु प्रतियोगितामा सहभागिता जनाउने अपेक्षा रहेको छ, अध्यक्ष स्याङ्तानले भने ।
प्रतियोगिताको लागि करिब ६ लाख खर्च हुने अनुमान छ, पालिकाबाट ४ लाख विनियोजन भएता पनि थप खर्चको रकम सहयोगी हातहरुबाटै संकलन गर्नेछौं, उनले भने । समूह दर्ता शुल्क दुई हजार लाग्ने छ भने २५ गते सम्म वडा नम्बर ५ धादिङमा अवस्थित नवजागृत क्लबको कार्यालयमा दर्ता हुन अध्यक्ष स्याङ्तानले आग्रह गरेका छन् । ९ खेलाडीले खेल्नुका साथै टिममा खेलाडी सहित १६ जना रहने उनले बताए ।
नवजागृत क्लबको समन्वयमा हुने प्रतियोगिता धादिङ मिनिरंगशालामा हुनेछ । प्रतियोगितामा विजेताले ८० हजार नगद सहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने उपविजेतालाई ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका कार्यक्रम संयोजक रामराजा महर्जनले बताए । प्रतियोगिता लिग चरणमा खेलाइनुका साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ट्रफि प्रदान गरिने उनले बताए ।
पत्रकार सम्मेलनमा नवजागृत क्लबका अध्यक्ष रामकुमार खड्का, गाउँपालिका खेलकुद विकास समितिका सदस्यद्धय रामराजा महर्जन र बालकृष्ण घिमिरे लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिताको समापन पौष २ गते हुनेछ ।