मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा गुड पिपुल नेपाल नामक सामाजिक संस्थाले एक जनालाई सहयोग गरेको छ । शुक्रबार स्वास्थ्य चौकीको परिसरमा वडामा बसोबास गर्ने अशक्त, एकल महिला, जेष्ठ नागरिक, गरिब तथा असहाय व्यक्तिलाई गुड पिपुल बक्स प्रदान गरिएको हो ।
वडा अध्यक्ष सुर्यबहादुर रुम्बाको प्रमुख आतिथ्यता तथा गुड पिपुल नेपालका अध्यक्ष सञ्जय लामाको अध्यक्षतामा सहयोग प्रदान गरिएको हो । बक्सभित्र सिरक एक थान, आँटा पिठो पाँच किलो, तेल २ लिटर, चिउरा २ किलो, साबुन २ थान र २ किलो दाल रहेको संस्थाका अध्यक्ष लामाले बताए ।
हामीले यहाँ र सोही वडाको दुम्सिडाँडामा गरी एक सय जनलाई उक्त सामाग्री सहयोग गरेका हौं, लामाले भने । वडामा रहनु भएका छुटपुटलाई आगामी कार्यक्रममा समेट्दै लैजाने उनले बताए । आफ्ना छोराछोरीबाट छुटिएर एकल जीवन बिताइरहेका, गरिब, अशक्त, एकल महिला र जेष्ठ नागरिकलाई यस कार्यक्रममा समेट्दै आइरहेको अध्यक्ष लामाले बताए ।
सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष रुम्बाले सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै चिसो मौसममा सबै वडाबासीहरु सजग रहन आग्रह गरेका थिए । छुटेकालाई आगामी दिनमा समेट्ने भएकाले दुख मन नगर्न आग्रह गरेका थिए । स्थानीय राजकुमार मोक्तानको पहलकदमीमा काठमाडौंबाट संस्थाले सहयोग प्रदान गरेको हो ।