हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर– ६ लाई विहिबार बालमैत्री वडा घोषणा गरिने भएको छ । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ घोषणा गरिने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । वडा अध्यक्ष विष्णुबहादुर दहालले निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको बताए । बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४८ वटा सुचकहरु शतप्रतिशत र बाँकी ४ वटामा आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गरेका छौं, अध्यक्ष दहालले भने ।
वडामा घरधुरी तथ्यांक संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार १ सय रहेको छ । जसमा १ हजार १ सय ३४ बालक र ९ सय ६६ बालिका रहेका छन् । कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ५३ दशमलव ८५ प्रतिशत बालक र ४६ दशमलव १४ प्रतिशत बालिका रहेको देखिन्छ ।
वडामा बालमैत्री अभियानका सुचकहरुमा ०७९ मङ्सिरबाट सुरु गरिएको वडाध्यक्ष दहालले बताए । हामीले अभियानको क्रममा बाल विवाह रोक्नुका साथै ग्यारेज, मिल लगायत अन्य स्थानहरुमा बालश्रमिक भेटेर उद्दार गरिएको वडाध्यक्ष दहालले बताए ।
अभियानमा गत आवमा तीन लाख ६५ हजार ७ सय बजेट विनियोजन गरिएको र चालु आवमा ४ लाख मध्ये २ लाख छुट्याइएको र माग अनुसार थप खर्चको लागि आवश्यक प्रक्रिया गर्ने तयारी रहेको वडा सचिव अमोद प्रसाद मैनालीले बताए ।
वडामा सामुदायिक र संस्थागत र बाल विकास केन्द्र सहितका ७ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । साथै समुदाय स्तरमा १९ वटा बालसमुहरु, र १ वडा बालसञ्जाल रहेको बालसमूह सञ्जाल अध्यक्ष आरोही गौतमले बताइन् । उनले सञ्जालमा ४ सय ७५ जना बालबालिकाहरु आवद्ध रहेको बताइन् ।
यसअघि यस वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिशामुक्त वडा घोषणा भईसकेको छ । यसअघि हेटौंडाका वडा नम्बर २, ४, ७, ८, ९, १०, ११, १५ १७, १९ नम्बर वडालाई बालमैत्री वडा घोषणा भईसकेका छन् ।
पत्रकार सम्मेलनमा वडा सदस्यद्धय विजय पौडेल, वडा बाल सहजर्का सरिा सापकोटा, रोजिना दंगाल, बाल समूह सञ्जालका अध्यक्ष आरोही गौतम लगायतको उपस्थिती रहेको थियो ।