हेटौंडा \ पछिल्लो समय मकवानपुर जिल्लामा डेंगुको बिरामी बढिरहेका छन् । विहीबारसम्ममा मकवानपुर जिल्लामा ८ सय ४३ जनामा डेङ्गु रोगको सङ्क्रमण पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
‘डेङ्गु रोगको संक्रमण सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।’ जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले भने –‘नगरमा सबैभन्दा बढी डेङ्गु संक्रमण ४ नम्वर वडा रहेको छ भने त्यसपछि ५ नम्वर वडा रहेको छ । हालसम्म ४ नम्वर वडामा ३ सय १४ जना, ५ नम्वर वडामा ९९ जना र १० नम्वर वडामा ७८ जना संक्रमित रहेका छन्।’ हेटौंडाको ४ नम्बर वडा क्षेत्रका मोटर ग्यारेज तथा मोटरसाइकल मर्मत केन्द्रहरु बढी भएकोले गर्दा संक्रमित बढी भेटिएको उनले बताए ।
डेङ्गु रोगका बिरामी हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेका छन् । डेङ्गुको परिक्षणका लागि हेटौंडा अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना आउने गरेकोमा ५० प्रतिशतमा डेङ्गु पोजिटिभ पाइने गरेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताए । नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने र आवश्यकता अनुसार स्प्रे छर्ने अभियानलाई तीव्र पारिएको हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाले जानकारी दिइन् ।
‘पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा डेंगुको संक्रमण बढेको पाएपछि हामीले रोग नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरिरहेका छौं’, लामाले भनिन्, ‘यो अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विभिन्न सरोकारवाला निकायले सक्रियतापूर्वक सहभागिता जनाइरहेको छ । संक्रमण दर घटाउँदै डेंगु नियन्त्रण गर्ने अभियानमा रहेका छौं ।’
डेंगु संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने तथा लार्भा बनाउने भएकोले सफा पानी जम्न सक्ने स्थान, साधनका टायर, गमला लगायत ठाउँ पहिचान गरी लामखुट्टे नष्ट गर्न स्प्रे गरिएको छ। हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगरको १ देखि १९ वटै वडामा डेङ्गु रोग नियन्त्रणका लागि प्रत्येक वडामा डेङ्गु रोगविरुद्ध जनचेतना अभियान र लामखुट्टेको लाभा नष्ट गर्ने, सरसफाइ गर्ने कार्य भइरहेको छ ।