मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले पहिलो पटक आयोजना गरेको पालिका स्तरीय ९ ए साइड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई ३-० गोल अन्तरले पराजित पार्दै उपाधि हात पारेको हो ।
उपाधि सँगै वडा ५ ले ८० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेतामा चित्त बुझाएको वडा नम्बर २ ले ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलको पहिला हाफमा विपिन भण्डारीले एक मिनेटमै पहिलो गोल गरेका थिए । खेलमा गोल फर्काउन वडा नम्बर २ ले प्रयासरत रहेता पनि पहिलो हाफमा गोल गर्न सकेन ।
खेलको दोस्रो हाफमा वडा ५ लाई खेलको ४८ मिनेटमा सुरेन नेपाली दोस्रो गोल थपेका थिए भने ५३ मिनेटमा विशाल स्याङ्तानले थप गरी ३-० गोल अन्तरले विजेता बन्न सफल रह्यो । खेलको अन्तिम प्रयास सम्म पनि वडा २ ले गोल फर्काउन सकेन र उपविजेतामा नै सिमित बन्यो ।
प्रतियोगिता पश्चात उत्कृष्ट गोल रक्षक वडा ५ एका अमर गोले घोषित भए भने डिफेन्डरमा वडा ५ कै महेश बज्यु भएका छन् । त्यस्तै, मिल्डफिल्डरमा वडा २ का मिलन गोले र फरवार्डमा वडा ५ का विपिन भण्डारी भएका छन् । खेलको उत्कृष्ट खेलाडी वडा २ का रोहित मोक्तान भएका छन् ।
खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको अध्यक्षता तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन समारोह भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रीन, नेपाली कांग्रेस जिल्ला सभापति बुद्ध लामा, युवा नेता यतिराज सापकोटा, वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीन, वडा ५ का अध्यक्ष दिपेश दहाल, वडा १ का अध्यक्ष आइतसिं लो, वडा सदस्यहरु, विभिन्न राजनितिक दलका प्रमुखहरु, सामाजिक संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि र खेलकुद सँग जोडिएका क्लबहरुका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
नवजागृत क्लबको समन्वयमा भएको प्रतियोगिता धादिङ मिनी रंगशालामा भएको थियो । २७ गते देखी जारी खेल लिग चरणमा खेलाइएको थियो । प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएको थियो । वडा नम्बर १ ले सहभागिता नजनाए पनि वडा नम्बर ५ बाट दुई टिम रहेको प्रतियोगिताका कार्यक्रम संयोजक रामराजा महर्जनले बताए ।