हेटौंडा \ नयाँ वर्ष २०२५ अवसरलाई लक्षित गर्दै हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै मकवानपुर होटल एशोसिएसनले आगामी पुस १३ गतेदेखी १६ गते सम्म एघारौं सडक खाना महोत्सव हुन लागेको बताएको छ ।
एशोसिएसनका निवर्तमान अध्यक्ष एंव महोत्सव संयोजक शंकरलाल श्रेष्ठले सडकमा जाउँ, सडकमा खाउँ, सडकमै रमाउँ भन्ने मूल नाराका साथ महोत्सव गरिन लागेको बताए । हेटौंडाको हुप्रचौरको पूर्वतर्फको सडकमा महोत्सव गरिने उनले बताए । महोत्सवमा करिब ५० स्टल रहन्छन्, स्टल शुल्क ४ दिनको रु. दश हजार लाग्नेछ, संयोजक श्रेष्ठले भने । महोत्सवमा रैथाने बालीका परिकारका साथै केराका परिकार, नेवारी खाजाका परिकार पाइन्छन् ।
महोत्सवमा स्थानीय कलाकारको प्रस्तुती रहनुका साथै विभिन्न डेकोरेटिभ बत्तिद्धारा मेला सझाउने एशोसिएसनका अध्यक्ष दिलिसगोविन्द जोशीले बताए । हाम्रो करिब साढे १४ लाख खर्च हुने अनुमान छ, चार दिन हुने महोत्सवमा ७० लाख सम्मको खाना खाजा विक्री हुने अनुमान गरेका छौं, जोशीले भने । महोत्सवमा मकवानपुर सहित चितवन, बारा पर्साबाट पनि अवलोकनकर्ताहरुको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवमा मकवानपुर सहकारी अस्पतालबाट आकस्मिक उपचार सेवा प्रदान हुने जनाइएको छ ।
महोत्सवमा करिब ४० हजारले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ । विगतको वर्ष झैं नयाँ वर्ष लक्षित गरि सडक खाना महोत्सव गर्दै आइरहेकोले साथ सहयोग गर्नुहुन सबैमा अध्यक्ष जोशीले आग्रह समेत गरेका छन् । महोत्सवको उद्घाटन १३ गते दिउँसो ३ बजे हुने जनाइएको छ ।
एशोसिएसनका अध्यक्ष दिलिशगोविन्द जोशीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एशोसिएसनका संस्थापक अध्यक्ष भागिरथ शर्मा, निर्वतमान अध्यक्ष शंकरलाल श्रेष्ठ, वडा नम्बर २ का वडाध्यक्ष एंव एशोसिएसनका वरिष्ठ उपाध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो । एशोसिएसनले पत्रकार सम्मेलनकै अवसरमा पत्रकार महासंघ मकवानपुर शाखामा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत सम्मान गरेको थियो ।