हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ राजपानीमा अवस्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभामा संस्थाका अध्यक्ष बस्नेतले वार्षिक प्रगति प्रतिवेदनका साथ आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै ऋण उपसमितिका संयोजक रामनाथ बगालेले ऋण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक कारोबार सहितको प्रतिवेदन कोषाध्यक्ष रामभक्त अधिकारीले प्रस्तुत गरेका थिए ।
२ करोड ५४ लाख ८७ हजार छ सय शेयरपुँजी रहेको सहकारीले आफ्ना सदस्यलाई ७ करोड ३२ लाख १२ हजार ३५७ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक राजाराम थापाले बताए । संस्थामा १९ लाख ८४ हजार ७८१ रुपैयाँ जगेडा कोषमा रहेको छ भने बचत निक्षेप ११ करोड २ लाख ४५ हजार ९२८ रुपैयाँ रहेको व्यवस्थापक थापाले बताए ।
सभामा वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा नम्बर ७ का वडाध्यक्ष दामोदर गौतम, वडा ८ सदस्य गोखरनाथ राय, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सदस्य जुना दंगाल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका वेदनाथ पौडेल, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, किसान कल्याण कृषि सहकारीका अध्यक्ष मोति लामा, संस्थाका सल्लाहकार पुष्पराम थापा, मनोहर दहाल, हरिप्रसाद वाग्ले लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
सहकारीले आफ्नै उद्योग सञ्चालन गरी तोरीको तेल, फापरको पिठो, चनाको पिठो, चियापत्ती, लगायत विभिन्न वस्तुहरु उत्पादन गरी बिक्री गर्दै आइरहेको छ ।