हेटौंडा \ हेटौंडामा तीन दिन सहकारीद्धारा उत्पादित वस्तु तथा प्रशोधित वस्तुहरुको प्रदर्शनी तथा बिक्री मेला हुने भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघको २० औँ स्थापना दिवसको अवसरमा संघले प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । आगामी पुस १६ गतेदेखि १८ गते सम्म प्रदर्शनी मेला हुने जनाइएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष कल्पना श्रेष्ठले सहकारीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्नका निम्ति प्रदर्शनी आयोजना गर्न लागेको बताईन् । उनले बचत तथा ऋण मात्र नभई कृषि सहकारीका साथै बहुउद्देश्यीय सहकारीहरुले समेत उत्पादन गरेका हस्तकला सामाग्री, खाद्य सामाग्री, मसला सामाग्री, डेरि परिकारहरुलाई मेलाका स्टलमा राखिने बताईन् । प्रदर्शनी मेला संघको नवनिर्मित भवनमा नै हुनेछ ।
तीन दिन सम्म सञ्चालन हुने प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान रहेको उनले बताईन् । मेला प्रदर्शनीमा करिब पाँच लाख खर्च हुने अनुमान गरेका छौं, अध्यक्ष श्रेष्ठले भनिन् । ४० वटा स्टल रहनेछन्, स्टलका लागि दर्ता शुल्क एक हजार एक सय रहेको श्रेष्ठले बताइन् । प्रदर्शनीमा केराको मम, फापरको थुलौरा, सेल तरकारी लगायतको समेत स्टल रहने जनाइएको छ । स्टल राख्नेमध्येबाट उत्कृष्ट चार स्टललाई पुरस्कारको समेत व्यवस्था रहेको छ ।
प्रदर्शनी मेलामा १६ गते सहकारी हाजिरीजवाफ प्रतियोगिता, १७ गते सहकारी निबन्ध प्रतियोगिता र सहकारीका सचिवबीच सहकारी वक्तृत्वकला प्रतियोगिता रहने संघका व्यवस्थापक सुमित्राकुमारी वाईवाले बताईन् । निबन्ध प्रतियोगिता कलेज स्तरीय रहने र एकका लागि सबै, सबैका लागि एक विषयवस्तु रहेको उनले बताईन् । वक्तृत्वकलामा भने सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने विषय रहेको जानकारी दिईन् । प्रतियोगितामा उत्कृष्ट चार जनालाई नगद सहित पुरस्कृत गरिने संघले जनाएको छ ।
१८ गते संघको नवनिर्मित भवनको उद्घाटन समेत गरिने जनाइएको छ । ३४ धुर क्षेत्रफलमा २९ सय स्क्वायर फिटमा निर्माण भएको भवनमा करिब साढे ३ करोड खर्च हुने अनुमान रहेको व्यवस्थापक वाईवाले बताईन् । प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाख भन्दा माथि र संघको जगेडाकोषको सहिको रकमबाट भवन निर्माण गरिएको उनले बताईन् ।
नवनिर्मित भवनको बागमती प्रदेश सरकारका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्य तालिका रहेको संघले बताएको छ ।