स्वर्गीय किशुनजी लाई श्रद्धाञ्जली दिने नाममा वर्षमा १ दिन सम्झने र ३६४ दिन बिर्सने रोगले कांग्रेसको राजनीति लागि गाँजेको छ। स्वर्गीय श्रदय कृष्ण प्रसाद भट्टराईलाई हार्दिक श्रद्धाञ्जली भन्दै वर्षमा १ दिन फेसबुकको भित्ता रङ्गाउन तछाड मछाड गर्ने हरुलाई सम्बोधन गर्दै र किशुनजी लाई हार्दिक श्रद्धान्जली अर्पण गर्दै दुई शब्द म पनि पोख्न चाहन्छु ।
जीवन र जगत बारे नबुझन्ने,बुझ्न कोशिश नगर्ने, पढेलेखेका ज्ञानी वा बौद्धिकहरुलाई कतै स्थान दिन नचाहने, सानो घेरा वा गुटमा रमाउने, राजनीति गरेको के को लागी हो भनेर नबुझ्ने, राज्य दोहन गरि प्राप्त शक्ति, सत्ता र धनको आडमा पार्टी र शासन हत्याउन सदैव लागि रहने,३५ वर्ष शासनमा रहँदा देश, जनता र पार्टीको हविगत के छ भनि नबुझ्ने,असफलता र निराशाको दोष अरुलाई मात्र दिने र नेपाली कांग्रेस पार्टी एक्लै चुनाव लड्न डराउने अवस्थामा ल्याउने कारकहरुले स्वर्गीय श्रद्धय कृष्णप्रसाद भट्टराईलाई श्रद्धाञ्जली दिदै गर्दा दुई शब्द लेख्न मन लाग्यो ।
गान्धी जस्तो इमान्दार,कबिर जस्तो विद्रोही, मीरा जस्तो प्रेमपूर्ण र कृष्ण जस्तो प्रज्ञावान व्यक्तिहरुको जन्म भएको लामो कहानी भएको संस्कृतिको परिवेश पछि मात्र स्वर्गीय किशुनजी यो धर्तिमा जन्म लिएको आभाष हुन्छ। स्वर्गीय किशुन जीको शादगी जीवन, स्वतन्त्रता प्राप्तिको लागी त्याग, तपस्या,राजनैतिक निष्ठा, अडिक विचार,अनुरागी, अध्यनशील जीवनबाट हामी राजनीति गर्नेले कति सिक्यौ ? कति व्यवहारमा उताऱ्यौं? त्यो आफैलाई फर्केर हेर्नु पर्ने भएको छ।
१० वर्ष सम्म महेन्द्रले जेल कोचे पछि जेल पर्ने मध्ये धेरै नेताहरु विन्तीपत्र हालेर जेलवाट निक्लिए। किशुनजीलाई पनि बिन्तीपत्र हाले जेलबाट रिहाई गरिदिनेछौं भन्दा बरु जेलमै मर्छु तर बिन्तीपत्र हालेर स्वतन्त्रता सँग सौदावाजी गर्दिन्न भन्नु भयो।
महेन्द्र राजाले किशुनजीको यो स्वतन्त्रता प्रतिको अडिक पन देखेर बिन्तीपत्र हाल्न पर्दैन,त्यसै जेलबाट छोडि दिन्छौं तर बाहिर पत्रकारले बिन्तीपत्र हालेर निक्लेको हो ? भनी सोधे भने नो कमेन्ट मात्र भनी दिनु पर्ने भन्दा बरु जेलमै बस्छु तर स्वतन्त्रता सँग सम्झौता गर्दिन भन्दै १० वर्ष पछि अरु २२ महिना जेल भित्रै बस्नुभयो।
नेपाल भित्रैबाट जनतालाई जागरूक गरेर क्रान्ति गर्नु पर्दछ भन्ने वहाँको दृढता थियो। किशुनजी कहिल्यै व्यक्ति प्रति आशक्त र पद प्रति लोभी हुनु भएन।अरुलाई आफू भन्दा विशिष्ठ देखाउने भन्दा सदैव नैतिकवान रहि कोही कसैको अगाडी विशिष्ट छैनन्, सबैले आफ्नो आफ्नो दायित्व मात्र लिएका हुन्छ। मानवको जीवन प्रकृति त समानै छ भन्नु हुन्थ्यो ।
वहाँ आफ्नो दर्शन वा जीवन पद्धती सबैले मानुन भन्ने पक्षमा हुनु हुने थिएन। मेरो विवेकले जे सोच्यो,त्यो मैले गरें तर अरुको विवेकले सोचेको पनि राम्रो हुन सक्छ भन्ने सोच थियो। वहाँले आफ्नो जीवन पद्धती अरुलाई कहिल्यै लाद्न करकाप गर्नु भएन र अरुको जीवन पद्धती प्रति पनि वहाँको सम्मान थियो।
गाईजात्रामा मदन कृष्ण,हरिवंशले किशुनजी लाई वहाँकै स्वरमा व्यङ्ग्य गरि कटाक्ष गर्दा कहिल्यै रिसाउनु भएन। बरु घर फर्के पछि उनै मदनकृष्ण र हरिवंश आचार्यलाई फोन गरि धन्यवाद दिनु हुन्थ्यो। वहाँ मैले स्वतन्त्रता प्राप्तिको लागी राजाको आलोचना गरें। कलाकारले मेरो आलोचना गरे भन्दै आलोचनालाई सहज रूपमा लिनुहुन्थ्यो।
किशुनजी प्रशंसाबाट कहिल्यै प्रभावित हुनु भएन तर आलोचना गर्नेबाट बरु प्रभावित हुनुभयो। वहाँ मेरो वरिपरि रहेर धेरै प्रशंसा गर्नेहरु कायर हुन्,उनीहरुबाट सदैव सतर्क रहनु भन्नु हुन्थ्यो। वहाँ प्रधानमन्त्री भई सके पछि पनि आफ्नो जुत्ता आफै पालिस गर्नुहुन्थ्यो।आफ्नो धोती आफै धुनु हुन्थ्यो। आफ्नो बेडको तन्ना आफै फेर्नु हुन्थ्यो र आफ्नो बेड आफै मिलाउनु हुन्थ्यो ।
वहाँले २०४८ सालमा संसदीय चुनाव हार्दा अन्तरघात भयो किशुनजी भन्दा मेरै कारणले जनताले मलाई कम भोट दिएर मतदानको बेला बाक्सा कब्जा गरि मतदान कब्जा गरि मलाई चुनाव हराएको पनि हैन। भोट त एक एक गरि जनताले मतपत्रमा चिन्ह लगाएको हो। मेरो बारे जनताको दृष्टिकोण राम्रो रहेनछ। अर्को पटक जनतालाई बुझाउने गरि भोट माग्छु । यस पटक सकिन भनि हारेको चुनाव सहर्ष स्वीकार्नु भयो। अन्तरघातको कुरा उठ्दा पनि मेरो पार्टीको कार्यकर्तालाई, नेतालाई मैले विश्वास दिलाउन सकिन । यसमा मेरै कमजोरी छ भन्नु भयो।
जीवनकालको अन्त्यतिर गणतन्त्र र धर्मको कुरा उठ्दा गणतन्त्र पक्षधर वकालत गर्ने नेताहरुलाई तिमीहरुको विचारको म विरोध गर्दिन । यो गर, उ गर, पनि भन्दिन। मैले मेरो विचार राख्ने हो। म संवैधानिक राजतन्त्रको पक्षमा छु। हिन्दु धर्मको पक्षमा छु तर बुहुमत जनता जे भन्दछन् ,त्यो म मान्दछु भन्दै जनता लाई भगवान सरह मान्नु हुन्थ्यो।
किशुनजी बेलुका रक्सी पिउनु हुन्थ्यो तर अरुलाई रक्सी खान कर गर्नु हुने थिएन । खाने नखाने व्यक्तिको स्वतन्त्रता हो। व्यक्ति स्वतन्त्र छ । व्यक्तिको इच्छामा कर गर्न मिल्दैन भन्नुहुन्थ्यो। यसको मतलब वहाँ व्यक्तिको स्वतन्त्रतालाई उच्च आदर गर्नु हुन्थ्यो।
वहाँ ठूला घर, महँगो कार, विलाशी जीवन शैली, धेरै धन जोड्ने कुरालाई, महत्वकांक्षालाई नरक जाने बाटो भन्नुहुन्थ्यो । वहाँ ठूला घर, महँगो कार, विलाशी जीवन शैली, धेरै धन कि त राज्यलाई मारेर मात्र प्राप्त गर्न सकिन्छ,कि त अपराध गरेर मात्र जोड्न सकिन्छ भन्नुहुन्थ्यो। यो सोचमा मानव लाग्नै हुँदैन।राज्य मार्दा स्वर्ग गईन्न, नरक गईन्छ भन्नु हुन्थ्यो।
प्रधानमन्त्री हुनुभयो, ठूलो पद पाउनु भयो, धेरै खुशी हुनुहुन्छ होला भनि पत्रकारले सोध्दा मेरो लक्ष्य मोक्ष्य प्राप्ति हो। मोक्ष्य प्राप्ति भित्र स्वतन्त्रता पर्दछ। स्वतन्त्र हुँदा यो पद आउँछ, जान्छ। पद सधैंको लागि प्राप्ति हुने पनि होइन। वहाँ पद प्राप्ति भन्दा मोक्ष्य प्राप्ति ठूलो कार्य छ। हामीहरु पद प्राप्ति भन्दा मोक्ष्य प्राप्ति गर्न तर्फ लाग्नु पर्दछ भन्नुहुन्थ्यो।
किशुनजी सामाजिक, कारुणिक, परोपकारी र सत्यवादी मान्छे सामन्त हुन सक्दैन भन्नु हुन्थ्यो । पदमा लोभी राजनीतिज्ञबाट देश र जगतको भलो हुन सक्दैन। त्यसैले पदमा लोभ र आशक्त राख्नेहरु म बाट परै बस भन्नुहुन्थ्यो।
ठूलो पार्टीको सभापती, देशको दुई पटक प्रधानमन्त्री हुँदा पनि एक रुपैया भ्रष्टाचार गर्नु भएन। सामान्य जीवन बिताउनु भयो। आफ्नो नाममा घर बनाउनु भएन। छाता,पानी खाने सुराई र पुरानो सुत्ने पलङ्ग बोक्दै गल्ली गल्ली चाहर्दै कोठा सर्दै हिड्नु भयो। यो हेर्दा किशुनजी भित्र ठूलो आत्यात्मिक सोच र सत्यवादी चिन्तन र मोक्ष्य प्राप्तिको इच्छा देखिन्छ ।
किशुनजी राजनीति र जीवन सफलताको मापन आफै भित्र खोज्नु पर्दछ भन्नुहुन्थ्यो। अरुको त हेराई मात्र हुन्छ। व्यक्ति अरुले राम्रो भनेर राम्रो र खराब भनेर खराब हुने होइन। आफू के छु ? कहाँ छु ? के गरिरहेछु ? सोचाई के छ ? के को लागी यो तछाड मछाड गरि रहेछु ? भन्ने प्रश्नको उत्तर आफूले आफै सँग सोध्नु पर्दछ। अरुको हेराईबाट आफ्नो सफलता मापन गर्नेले मोक्ष्य प्राप्ति गर्ने सक्दैन भन्नु हुन्थ्यो।
अर्को तर्फ किशुनजी सदैव अहिंसक क्रान्तिको पक्षमा हुनुहुन्थ्यो। यो हेर्दा किशुनजी बुद्धबाट प्रभावित हुनुहुन्थ्यो। जे होस,स्वर्गीय किशुनजी बाट हामीले के कति सिक्यौ ? वा आफूलाई जीवन पद्धतीमा अनुशरण कति गऱ्यौँ ? त्यो त खोजकै विषय होला।
स्वर्गीय कृष्ण प्रसाद भट्टराईको आज १०१ जन्म जयन्ती । स्वर्गीय किशुनजी प्रति हार्दिक श्रद्धाञ्जली
लेखक त्रिपाठी हाल बेलायत छन् ।