हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले ऐतिहासिक चुरियामाई सुरुङ्गको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । सोमबार बागमती प्रदेश सरकारले पुननिर्माण गरेको सुरुङलाई हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले व्यवस्थित गर्नुका साथै सुरुङको संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।
सुरुङ अवलोकन गर्न आन्तरिक पर्यटकका साथै बाह्य पर्यटकलाई समेत भित्र्याउन सकिने बताउँदै नेपालको मात्र नभई एसियाकै पहिलो मानव निर्मित सुरुङ भएको बताउनुभयो । यसलाई थप आकर्षक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरुङ पुननिर्माण सँगै सञ्चालन कार्यविधि पनि सँगै बनाउनु पथ्र्यो तर अब कार्यविधि बनाएर सञ्चालन गर्न उपमहानगरपालिकालाई आग्रह गर्नुभयो । सुरुङ सञ्चालनमा थप वृद्धि विकास गर्न प्रदेश सरकार सदैव तत्पर रहेको बताउँदै मुख्यमन्त्री लामाले सुरुङमार्गलाई महत्व दिएर सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले एक शताब्दीको सुरुङलाइ जिवित गर्दै हेटौंडा उपमहानगरको पोल्टामा सुम्पिएको बताउँनु भयो । यसलाई व्यवस्थित गरि सञ्चालन गर्न आग्रह गर्नुका साथै पछिल्लो पुस्ताले सम्झन लायक बनाउन भन्नुभयो । सरकारले प्राथमिकताको आधारमा बहुवर्षिय योजनालाई कार्यान्वयन गर्दै आइरहेको उहाँले बताउनुभयो । नगरपालिकाले स्वामीत्व लिइसकेपछि व्यवस्थापन र संरक्षणमा चुस्तदुरुस्त रहन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री बहादुर सिं लामाले हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामालाई सुरुङमार्गको साँचो हस्तान्तरण गर्नुभएको थियो । साँचो ग्रहण गर्दै नगरप्रमुख लामाले कार्यविधि निर्माण गरेर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सबैको साथ सहयोगका साथ व्यवस्थापनको जागरुकताले सुरुङ र मन्दिरको संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेल, पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयाल, प्रदेश सभाका सदस्यहरु, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
सुरुङमार्ग पुननिर्माण कार्यका लागि प्रदेश सरकारबाट तीन करोड ३६ लाख १३ हजार ८७८ रुपैयाँमा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेडसँग सम्झौता गरेपनि यर्थात लागत खर्च तीन करोड ६५ लाख ८५ हजार ४१५ रुपैयाँ खर्च भएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पोखरेलले बताउनुभयो । सुरुङ मार्ग २२५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको उहाँले बताउनुभयो ।
मकवानपुर र बारा जिल्लाको सिमाना हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग अवलोकनका लागि उपमहानगरले तयार गरेको कार्य विधि अनुसार नेपालीका लागि प्रतिव्यक्ति रु. ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशी नागरिकलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको उपमहानगरपालिकाले जनाएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई भने निःशुल्क गरिएको जनाइएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण भएको ’चुरियामाई सुरुङ’ बीच भागमा भासिएको थियो । उहाँले नै निर्माणको सुरु गर्नुभएकाले पहिलो मानव निर्मित सुरुङमार्गको रुपमा विश्वप्रख्यात छ । हेटौंडा उपमहानगरपालिकाले थापाको अर्धकदको प्रतिमा सुरुङमार्गको प्रवेशद्धार परिसरमा निर्माण गरेको छ ।